कांग्रेस कार्यसम्पादन समिति बैठक जारी : विशेष कि नियमित महाधिवेशन ? सानेपामा निर्णायक बहस
काठमाडौँ, २३ पुस । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (बुधबार) पनि बस्दैछ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ९ बजेका लागि बैठक बोलाइएको हो ।
पार्टीभित्र १५औँ महाधिवेशनको मोडालिटीलाई लिएर तीव्र मतभेद देखिएका बेला बस्न लागेको यस बैठकमा नेताहरूले धारणा राख्ने क्रम जारी रहनेछ । पछिल्लो केही दिनदेखि चलिरहेको छलफलमा महाधिवेशनको स्वरूपलाई लिएर पार्टी स्पष्ट दुई धारमा विभाजित भएको छ ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले तत्काल ‘विशेष महाधिवेशन’ को प्रस्ताव अघि सार्दै त्यसको तयारीमा जोड दिइरहनुभएको छ । तर, सभापति शेरबहादुर देउवा पक्षीय संस्थापन पक्ष भने विशेष महाधिवेशनको विपक्षमा उभिएको छ । संस्थापन पक्षले पार्टी विधानअनुसार ‘नियमित महाधिवेशन’ कै प्रक्रिया अघि बढाउनुपर्ने अडान राख्दै आएको छ ।
आजको बैठकमा यी दुई भिन्न प्रस्तावमाथि सहमति खोज्ने प्रयास हुने र सम्भवतः महाधिवेशनको संशोधित कार्यतालिकाका विषयमा समेत ठोस छलफल हुने पार्टी स्रोतले जनाएको छ । महाधिवेशनको किचलोका कारण कांग्रेसभित्रको आन्तरिक समीकरण फेरि एकपटक पेचिलो बनेको छ ।