काठमाडौँ विश्वविद्यालयमा ‘एआई-सम्मेलन’ सुरु
काठमाडौँ, पुस ३० । धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू) मा आज सोमबारदेखि तीन दिने ‘एआई कन्क्लेभ-२०२६’ (कृत्रिम बुद्धिमत्ता सम्मेलन) सुरु भएको छ । विश्वविद्यालयको आर्टिफिसियल इन्टेलिजेन्स क्लब (केयुएआइसी) को आयोजनामा सुरु भएको यो सम्मेलनले नेपालमा प्रविधिको भविष्य र यसको सामाजिक प्रभावबारे नयाँ बहस छेड्ने अपेक्षा गरिएको छ ।
‘एआई कन्भर्जेन्स-२०२६’ अभियानको दोस्रो चरणका रूपमा आयोजित यस सम्मेलनको मुख्य नारा ‘ब्रिजिङ इन्टेलिजेन्स एन्ड इनोभेसन’ (बौद्धिकता र नवप्रवर्तनको संगम) रहेको छ । यसअघि सञ्चालन हुँदै आएको ‘एआई–मिट’ कार्यक्रमलाई परिस्कृत गर्दै यस वर्ष बृहत् रूपमा ‘एआई कन्क्लेभ’ को आयोजना गरिएको हो ।
‘ब्रिजिङ इन्टेलिजेन्स एन्ड इनोभेसन’ नाराका साथ तीन दिने ‘एआई कन्क्लेभ २०२६’ : शिक्षा, स्वास्थ्य र उद्योगमा एआईको व्यावहारिक प्रयोगबारे बहस हुने
सम्मेलनले विद्यार्थी, अनुसन्धानकर्ता, प्रविधि उद्योगका प्रतिनिधि, स्टार्टअप, नीति–निर्माता तथा सर्वसाधारणलाई एउटै मञ्चमा जोड्ने लक्ष्य राखेको छ । क्लबका अध्यक्ष अशिम श्रेष्ठका अनुसार एआईलाई केवल ‘अनुसन्धान’ वा ‘जेनरेटिभ टुल’ मा मात्र सीमित नराखी स्वास्थ्य, वित्त, शासन, उद्योग र समग्र समाजमा यसको व्यावहारिक प्रयोग कसरी गर्न सकिन्छ भन्नेबारे जनचेतना फैलाउनु सम्मेलनको मुख्य उद्देश्य हो ।
आयोजकका अनुसार यो सम्मेलन तीन चरणको ‘एआई कन्भर्जेन्स’ को महत्त्वपूर्ण हिस्सा हो । यसअघि पहिलो चरणमा एआई फाउन्डेसन र बुटक्याम्पहरू सम्पन्न भइसकेका छन् । धुलिखेलस्थित केयूको केन्द्रीय कार्यालयमा सञ्चालन भइरहेको यो सम्मेलनमा देशभरका करिब पाँच हजार अवलोकनकर्ताले सहभागिता जनाउने अनुमान गरिएको छ ।
विश्वभर एआईको चर्चा र प्रयोग बढिरहेका बेला नेपालको अग्रणी शैक्षिक संस्था काठमाडौँ विश्वविद्यालयले आयोजना गरेको यो कार्यक्रमले प्रविधि क्षेत्रका नवप्रवर्तकहरूलाई प्रोत्साहित गर्ने र राष्ट्रिय एआई नीति निर्माणमा समेत योगदान पुर्याउने विश्वास लिइएको छ ।
