ललितपुरमा ८३ वर्षीय वृद्धको बीभत्स हत्या, बोरामा बाँधिएको अवस्थामा इनारभित्र शव फेला

काठमाडौँ, २८ पुस । ललितपुरमा एक ८३ वर्षीय वृद्धको हत्या गरी इनारमा फालिएको अवस्थामा शव फेला परेको छ । ललितपुर महानगरपालिका–१७ प्रसिद्ध टोल बस्दै आएका इलामका गर्जमान थापाको हत्या भएको हो ।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार थापा गत शुक्रबारदेखि बेपत्ता भएका थिए । परिवारले खोजतलासका लागि प्रहरीमा खबर गरेपछि खोजी गर्ने क्रममा सोमबार ललितपुरकै किस्ट अस्पताल नजिकैको एक इनारभित्र उनको शव फेला परेको हो ।

परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) होबिन्द्र बोगटीले घटनाको प्रकृति हेर्दा हत्या भएको स्पष्ट देखिएको जानकारी दिनुभयो । “वृद्धको शव बोरामा पोको पारेर बाँधिएको अवस्थामा इनारभित्र भेटिएको छ,’एसएसपी बोगटीले भन्नुभयो, शवलाई त्यसरी व्यवस्थापन गरिनुले यो नियोजित हत्या भएको प्रारम्भिक निष्कर्ष छ ।’

इलाम स्थायी घर भएका थापा ललितपुरमा बस्दै आउनुभएको थियो । शुक्रबारदेखि सम्पर्कविहीन भएपछि प्रहरीले उहाँको खोजी तीव्र पारेको थियो । सोमबार बिहान शङ्कास्पद अवस्थामा इनारभित्र बोरा देखिएपछि प्रहरीले निकालेर हेर्दा थापाको मृत शरीर भेटिएको हो ।

प्रहरीले घटनाको सूक्ष्म अनुसन्धान सुरु गरिसकेको जनाएको छ । हत्यामा संलग्न व्यक्तिको पहिचान र हत्याको कारणबारे अनुसन्धान भइरहेको र शवलाई पोष्टमार्टमका लागि पठाइएको प्रहरीले जानकारी दिएको छ ।