काठमाडौँ उपत्यकाको तापक्रम ३ डिग्रीमा झर्यो, अझै जाडो बढ्ने मौसमविद्को अनुमान
काठमाडौँ, ३० पुस । काठमाडौँ उपत्यकामा आज यस वर्षकै बढी जाडो महसुस गरिएको छ । उपत्यकाको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियससम्म झरेसँगै जनजीवन प्रभावित भएको हाे ।
मौसमविद्का अनुसार आज बिहान ६ बजेर २७ मिनेटमा ललितपुरको सानेपा क्षेत्रमा न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस मापन गरिएको छ । “यो तापक्रम अझै घट्न सक्ने अनुमान गरिएको छ,” । आजको न्यूनतम तापक्रमको अन्तिम र आधिकारिक मापन बिहान ८:४५ बजे गरिने मौसम विभागले जनाएको छ ।
उपत्यकामा चिसो बढेसँगै तराईका भू-भागहरूमा पनि हुस्सु र कुहिरोको प्रभाव देखिएको छ । तराईका अधिकांश स्थानमा बिहानीपख बाक्लो हुस्सु लाग्दा यातायात र उडानहरू समेत प्रभावित हुन सक्ने देखिएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहने सम्भावना छ । देशका बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहनेछ ।
तापक्रममा आएको गिरावटसँगै स्वास्थ्य विज्ञहरूले विशेषगरी बालबालिका र वृद्धवृद्धालाई चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन सुझाव दिएका छन् ।