त्रिवि शिक्षण अस्पतालमा आजदेखि स्वास्थ्य बिमा सेवा ठप्प : बोर्डले ४० करोड नतिरेपछि अस्पतालले लियो कडा निर्णय
काठमाडौँ, १ माघ । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पताल (टिचिङ) ले आज (बिहीबार) देखि स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गतका सबै उपचार सेवाहरू पूर्ण रूपमा बन्द गरेको छ । स्वास्थ्य बिमा बोर्डले लामो समयदेखि शोधभर्ना बापतको रकम भुक्तानी नगरेपछि अस्पतालले बाध्य भएर यो निर्णय लिएको हो ।
अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराका अनुसार स्वास्थ्य बिमा बोर्डबाट अस्पतालले करिब ४० करोड रुपैयाँ भुक्तानी लिन बाँकी छ । पटक-पटक ताकेता गर्दा पनि बोर्डले रकम उपलब्ध नगराएपछि बिमा कार्यक्रमलाई निरन्तरता दिन नसकिएको अस्पताल प्रशासनले जनाएको छ ।
मासिक २ करोड घाटा, अस्पताल चलाउनै मुस्किल
सूचना अधिकारी रोस्याराले अस्पतालको आन्तरिक स्रोतले मात्र बिमा कार्यक्रम धान्न नसकिने स्पष्ट पार्नुभयो । “हामीले स्वास्थ्य बिमामार्फत मासिक करिब दुई करोड रुपैयाँ बराबरको सेवा उपलब्ध गराउँदै आएका थियौँ,” उहाँले भन्नुभयो, “तर बोर्डले समयमा पैसा नदिँदा अस्पतालको दैनिक सञ्चालनमै समस्या देखिन थाल्यो । मासिक दुई करोड घाटा सहेर कार्यक्रम चलाउन सक्ने अवस्था अब रहेन ।”
२ वर्षदेखिको आग्रह सुनुवाइ भएन
शिक्षण अस्पतालले २०७७ सालदेखि नियमित रूपमा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्दै आएको थियो । बिमा बापतको बक्यौता रकम भुक्तानीका लागि विगत दुई वर्षदेखि बोर्डलाई बारम्बार पत्राचार र आग्रह गरे पनि कुनै सुनुवाइ नभएको अस्पतालको गुनासो छ ।
बिरामी मारमा
देशभरबाट उपचारका लागि शिक्षण अस्पताल आउने हजारौँ बीमित बिरामीहरू यो निर्णयसँगै प्रत्यक्ष मारमा परेका छन् । अब बिरामीहरूले अस्पतालमा उपचार गराउँदा नगद नै तिर्नुपर्नेछ । सरकारीस्तरको सबैभन्दा ठूलो र भरपर्दो अस्पतालमै बिमा सेवा बन्द हुनुले सरकारको स्वास्थ्य बिमा कार्यक्रमकै प्रभावकारितामाथि प्रश्न उठेको छ ।
अस्पतालले बोर्डबाट बक्यौता रकम प्राप्त नभएसम्मका लागि यो सेवा स्थगित रहने सङ्केत गरेको छ ।