उपप्रमुख डंगोलको नेतृत्वबाट खाद्य स्वच्छतामा नतिजा आउँदै : २ हजार बढी व्यवसायीलाई प्रशिक्षण

काठमाडौँ, १ माघ  । काठमाडौँ महानगरपालिकाले सहरको खाद्य प्रणालीलाई सुरक्षित र गुणस्तरीय बनाउन चालेको अभियानले सकारात्मक नतिजा देखाउन थालेको छ । उपप्रमुख सुनिता डंगोलको नेतृत्वमा अघि बढाइएको ‘स्वच्छ भान्छा’ स्वर्णिम योजनाअन्तर्गत हालसम्म २ हजार ६९ जना खाद्य व्यवसायीलाई खाद्य स्वच्छता र सरसफाइ सम्बन्धी विशेष तालिम (फुड सेफ्टी बुट क्याम्प) प्रदान गरिएको छ ।

‘स्वच्छ खाना : उत्कृष्ट व्यापार’ भन्ने मूल नाराका साथ सुरु गरिएको यस अभियानको आठौँ श्रृङ्खला हालै दरबार हाइस्कूलमा सम्पन्न भएको छ। तालिमको अवलोकन गर्दै उपप्रमुख सुनिता डंगोलले महानगरपालिका स्वच्छ व्यावसायिक वातावरण निर्माण गर्न प्रतिबद्ध रहेको बताउनुभयो । “हामी केवल बजार अनुगमनमा मात्र सीमित छैनौँ, व्यवसायीलाई कानुनी व्यवस्था र व्यावसायिक क्षमताका बारेमा साक्षर गराइरहेका छौँ,” उपप्रमुख डंगोलले भन्नुभयो, “व्यवसायीहरू उपभोक्ताको अधिकारप्रति जिम्मेवार भए मात्र सहरको खाद्य सेवा महसुस योग्य र गुणस्तरीय बन्नेछ ।”

महानगरपालिकाले खाद्य सेवाका विभिन्न क्षेत्रलाई प्राथमिकतामा राखेर तालिम सञ्चालन गर्दै आएको छ । पहिलो र दोस्रो चरणमा  साना तथा मध्यम भोजनालयका ३०० सञ्चालक र दशैँ लक्षित ३२१ मासु व्यवसायी, तेस्रो र छैटौँ चरणमा  तिहार लक्षित तथा अन्य समयका मिठाई व्यवसायी (जम्मा २६७ जना), चौथो चरणमा  होटल, क्याटरिङ र ब्याङ्क्वेट सेवाका ३६६ व्यवसायी, पाँचौँ र सातौँ चरणमा ५०५ जना मौलिक तथा रैथाने खानाका उत्पादक र ६० जना दुग्ध व्यवसायी र  आठौँ चरणमा हालै सम्पन्न मःम पसल सञ्चालकका लागि आयोजित तालिममा २५० जना सहभागी हुनुभएको थियो । 

महानगरका खाद्य स्वच्छता सल्लाहकार जीवनप्रभा लामाका अनुसार तालिममा अन्न उत्पादनदेखि ढुवानी, भण्डारण, र भान्साको स्वच्छतासम्मका विषयमा सैद्धान्तिक र व्यावहारिक ज्ञान दिइन्छ। कृषि तथा पशुपन्छी विभागका प्रमुख नुरनिधि न्यौपानेले तालिममा क्रस कन्टामिनेसन (एक वस्तुबाट अर्कोमा सर्ने प्रदूषण) को रोकथाम, हाइजिन रेटिङ, र कानुनी दण्ड-जरिवानाका बारेमा व्यवसायीलाई सचेत गराइने जानकारी दिनुभयो ।

महानगरपालिकाले अब खाद्य सेवाको गुणस्तर मूल्याङ्कन गरी ‘हाइजिन रेटिङ’ र प्रमाणीकरण गर्ने प्रणाली विकास गर्दैछ । यसले गर्दा उपभोक्ताले कुन स्तरको खाना खरिद गर्दैछु भन्ने सजिलै थाहा पाउनेछन् । यस प्रणालीले व्यवसायीहरूबीच स्वच्छ प्रतिस्पर्धा बढाउने र कम स्तर भएका व्यवसायीलाई सुधारको अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।

व्यवसायीहरूले महानगरको यस कदमको स्वागत गर्दै साना व्यापारका लागि नीतिगत सरलीकरण र खानेपानीको नियमित वितरणमा ध्यान दिन उपप्रमुखसँग माग गरेका छन् । महानगरपालिकाको यो अभियानले व्यक्तिगत र पारिवारिक स्तरसम्म खाद्य सजगता वृद्धि गरी समग्र जनस्वास्थ्यमा सुधार ल्याउने विश्वास लिइएको छ ।