‘सिंहदरबार जलाउनेलाई होइन, देश बनाउनेलाई जनताले मत दिन्छन्’ : महासचिव पोखरेल
दाङ, ७ माघ । नेकपा (एमाले) का महासचिव एवं दाङ निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार शंकर पोखरेलले आगामी निर्वाचनमा जनताले विनाशकारी शक्तिलाई नभई विकासप्रेमी शक्तिलाई अनुमोदन गर्ने दाबी गर्नुभएको छ ।
बुधबार दाङको घोराहीमा पेशागत महासङ्घ नेपालले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै महासचिव पोखरेलले विध्वंसात्मक राजनीति र अराजक सोचले मुलुकको हित नगर्ने स्पष्ट पार्नुभयो ।
पछिल्लो समय राजनीतिक वृत्तमा चर्चामा रहेको ‘सिंहदरबार जलाउने’ अभिव्यक्तिप्रति कटाक्ष गर्दै उहाँले भन्नुभयो, “सिंहदरबार जलाउने सोच र कार्यशैलीले देश बनाउन सकिँदैन । जनताले अब त्यस्ता शक्तिलाई होइन, देश बनाउने जिम्मेवार शक्तिलाई मत दिन्छन् ।”
महासचिव पोखरेलले विगतका कतिपय आन्दोलन र राजनीतिक गतिविधिमा राष्ट्रिय प्रतीक र प्रशासनिक केन्द्रमाथि प्रहार हुनु दुःखद भएको बताउनुभयो । सिंहदरबार नेपालको अस्मिता र प्रशासनिक केन्द्र भएकाले त्यसप्रति गरिने नकारात्मक टिप्पणी राष्ट्रविरोधी कार्य भएको उहाँको तर्क थियो ।
आगामी निर्वाचनलाई देश निर्माणको महाअभियान र स्थिरताको अवसरका रूपमा व्याख्या गर्दै उहाँले भन्नुभयो, “जनता अब अस्थिरता र बारम्बार सरकार परिवर्तनको खेलबाट आजित भइसकेका छन् । यो निर्वाचन विकास, समृद्धि र राजनीतिक स्थिरताका लागि ऐतिहासिक मोड हुनेछ ।”
आफ्नो निर्वाचन क्षेत्रका बारेमा बोल्दै पोखरेलले दाङको समग्र पूर्वाधार विकास, गुणस्तरीय शिक्षा, स्वास्थ्य र रोजगारी सिर्जनालाई आफूले उच्च प्राथमिकतामा राखेको बताउनुभयो । घोराही र आसपासका क्षेत्रलाई नमूना सहरका रूपमा विकास गर्न एमालेको नेतृत्व आवश्यक रहेको उहाँको जिकिर थियो ।
कार्यक्रममा सहभागी पेशागत महासङ्घका प्रतिनिधिहरूले राजनीतिक स्थिरता बिना विकास र पेशागत हकहित सम्भव नहुने भन्दै निर्वाचनमा सचेत भएर मतदान गर्नुपर्नेमा जोड दिएका थिए ।