भक्तपुरमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु, मोटरसाइकल चालक घाइते

भक्तपुर, १५ माघ । भक्तपुरको कमलविनायक बसपार्क नजिकै भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ । टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको हो भने मोटरसाइकल चालक घाइते भएका छन् ।

जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार कमलविनायकबाट च्यामासिंहतर्फ जाँदै गरेको बा ५५ प १७४५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई लड्दा सोही दिशामा रहेको बागमती प्रदेश ०२–०२० प ११६८ नम्बरको स्कुटरसँग ठोक्किएको थियो । सोही क्रममा पछाडिबाट आउँदै गरेको प्रदेश ३–०१–००३ क ६२९१ नम्बरको टिपरले स्कुटरलाई ठक्कर दिएको हो ।

टिपरको ठक्करबाट गम्भीर घाइते भएका स्कुटर चालक भक्तपुर नगरपालिका–८ का २६ वर्षीय विमल वनमालाको उपचारका क्रममा मृत्यु भएको छ । भक्तपुर प्रहरी प्रमुख एवं एसपी सूर्यबहादुर खड्काका अनुसार वनमालाको भक्तपुर अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक भक्तपुर नगरपालिका–७ इनाचोका २४ वर्षीय राजेश वनमाला घाइते भएका छन् । उनको ललितपुरस्थित बी एन्ड बी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनालगत्तै फरार भएका टिपर चालक सिन्धुपाल्चोकका २५ वर्षीय राजकुमार माझीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनामा संलग्न तीनवटै सवारीसाधनलाई प्रहरी वृत्त जगातीमा राखी थप अनुसन्धान भइरहेको एसपी खड्काले जानकारी दिए ।