सम्बन्ध विच्छेदको प्रत्यक्ष असर बालबालिकामा : अभिभावक छुट्टिँदा स्कुल जाने उमेरका बालबालिका श्रम बजारमा

भोजपुर, १७ माघ । भोजपुरमा बढ्दो सम्बन्ध विच्छेदका घटनाले बालबालिकाको भविष्यमा गम्भीर असर पार्न थालेको छ । पारिवारिक विखण्डनसँगै अभिभावकको माया र संरक्षणबाट वञ्चित बालबालिकाहरू विद्यालय छोडेर कलिलै उमेरमा श्रममा धकेलिन बाध्य भएका हुन् ।

आमा-बुवाको वैवाहिक सम्बन्ध टुटेपछि सिर्जना हुने आर्थिक अभाव र भावनात्मक अस्थिरताले बालबालिकालाई श्रम बजारमा पुर्‍याएको पाइएको छ । उनीहरू अहिले होटल, सवारी मर्मत गर्ने ग्यारेज, कृषि क्षेत्र र साना उद्योगहरूमा ज्याला मजदुरी गरिरहेका भेटिन्छन् ।

साल्पासिलिछो गाउँपालिकाका एक १६ वर्षीय बालक अहिले विद्यालय जानुको साटो अरूको खेतबारीमा अर्मपर्म र ज्यालादारी काम गर्छन् । पारिवारिक बेमेलका कारण बुवा-आमा छुट्टिएपछि घरको खर्च धान्न आफू मजदुरी गर्न बाध्य भएको ती बालकले दुखेसो पोखे । यो एउटा प्रतिनिधि उदाहरण मात्र हो, जिल्लामा यस्ता धेरै बालबालिका छन् जो अभिभावकत्वको अभावमा भविष्य अन्धकार बनाउँदैछन् ।

सामाजिक अभियन्ताहरूका अनुसार सम्बन्ध विच्छेदपछि प्रायः आमा वा बुवामध्ये एक जना रोजगारीका लागि बाहिरिन्छन् । घरमा बस्ने अभिभावकले पर्याप्त आम्दानी गर्न नसक्नु र बालबालिकाको निगरानी गर्ने कोही नहुनु नै बालश्रम बढ्नुको मुख्य कारण हो ।

अभियन्ता सम्झना प्रधानका अनुसार बुवा-आमा छुट्टिएपछि बालबालिकामा गहिरो मनोवैज्ञानिक असर पर्छ । “पढाइमा ध्यान नजाने, आफन्तकहाँ आश्रय लिनुपर्ने र अन्त्यमा जीविकोपार्जनका लागि विभिन्न जोखिमपूर्ण काममा संलग्न हुने प्रवृत्ति बढेको छ,” प्रधान भन्नुहुन्छ, “पारिवारिक बेमेलले बालबालिकालाई जबर्जस्ती श्रममा धकेल्ने अवस्था सिर्जना गरेको छ ।”

बालश्रम न्यूनीकरणका लागि केवल कानुन मात्र पर्याप्त नहुने सरोकारवालाहरूको तर्क छ । सम्बन्ध विच्छेदपछि बालबालिकाको शिक्षा, स्वास्थ्य र मानसिक अवस्थाबारे राज्य र स्थानीय तहले विशेष योजना ल्याउनुपर्ने देखिएको छ ।

बालश्रम रोक्नका लागि देहायका कार्यहरू तत्काल गर्नुपर्ने सुझाव दिइएको छ:
पारिवारिक परामर्श सेवालाई प्रभावकारी बनाउने ।
अभिभावकहरूमा सचेतना जगाउने ।
विद्यालयबाट बीचैमा पढाइ छाडेका (ड्रप-आउट) बालबालिकालाई पुनः भर्ना गर्ने कार्यक्रम ल्याउने ।
विपन्न र प्रभावित बालबालिकाका लागि सामाजिक सुरक्षा योजना कार्यान्वयन गर्ने ।
सम्बन्ध विच्छेदको यो सामाजिक समस्यालाई बेलैमा सम्बोधन नगरिए भविष्यमा अशिक्षा, गरिबी र सामाजिक विकृतिको दुष्चक्र अझै गहिरिने निश्चित छ ।