निर्वाचन आयोगद्वारा नमूना मतपत्र सार्वजनिक: काठमाडौँको मतपत्र सबैभन्दा ठूलो
काठमाडौँ, १७ माघ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशका विभिन्न जिल्ला र निर्वाचन क्षेत्रका ‘नमूना मतपत्र’ सार्वजनिक गरेको छ।
सातवटै प्रदेशका निर्वाचन क्षेत्रहरूको वस्तुस्थिति झल्किने गरी आयोगले यो नमूना सार्वजनिक गरेको हो।
सार्वजनिक गरिएको नमूनामा एउटा मात्र निर्वाचन क्षेत्र भएका जिल्ला र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाका लागि छुट्टाछुट्टै ढाँचा तयार पारिएको छ। यो नमूना मतपत्र मुख्यगरी मतदाता शिक्षा कार्यक्रमका लागि प्रयोग गरिने आयोगले जनाएको छ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार सम्बन्धित निर्वाचन क्षेत्रमा कायम रहेका उम्मेदवारको सङ्ख्याका आधारमा मतपत्रको आकार निर्धारण गरिएको छ। उम्मेदवारको सङ्ख्या धेरै भएका क्षेत्रमा मतपत्रको आकार तुलनात्मक रूपमा ठूलो र कम उम्मेदवार भएका क्षेत्रमा सानो हुनेछ। यस आधारमा काठमाडौँका निर्वाचन क्षेत्रहरूको मतपत्र सबैभन्दा ठूलो आकारको हुने देखिएको छ।
आयोगले सार्वजनिक गरेको विवरण अनुसार: कर्णाली प्रदेश: सल्ल्यान, डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट र रुकुम पश्चिममा एउटा मात्र निर्वाचन क्षेत्र छ भने दैलेख र सुर्खेतमा दुई–दुई वटा निर्वाचन क्षेत्र रहेका छन्।
सुदूरपश्चिम प्रदेश: बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी र डडेलधुरामा एक–एक निर्वाचन क्षेत्र छन्। अछाममा दुई, कञ्चनपुरमा तीन र कैलालीमा पाँच वटा निर्वाचन क्षेत्र कायम गरिएको छ।
आयोगले यी सबै क्षेत्रका लागि आवश्यक पर्ने मतपत्रको नमूना आफ्नो आधिकारिक माध्यमबाट सार्वजनिक गरिसकेको छ।
समानुपातिकतर्फको छपाइ सम्पन्न
प्रत्यक्षतर्फ (पहिलो हुने निर्वाचित हुने) का लागि नमूना मतपत्र सार्वजनिक भइरहँदा समानुपातिक निर्वाचन प्रणालीतर्फका मतपत्रको छपाइ भने कार्यतालिका अनुसार नै सम्पन्न भइसकेको आयोगले जनाएको छ।
मतदाताले आफूले मतदान गर्ने उम्मेदवारको चुनाव चिह्न र मतपत्रको ढाँचा बुझ्न सहज होस् भन्ने उद्देश्यले आयोगले समयमै नमूना मतपत्र ल्याएको हो। अब यसलाई वडा र टोल तहसम्म पुर्याएर मतदाता शिक्षा अभियान सञ्चालन गरिनेछ।