भक्तपुरको हनुमानघाटमा एकमहिने माधवनारायण मेला सम्पन्न, ३५ जनाले गरे कठिन व्रत

भक्तपुर, १८ माघ । भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीधाममा सञ्चालित एकमहिने माधवनारायण मेला तथा कठिन व्रत आइतबार विधिवत् रूपमा सम्पन्न भएको छ । हरेक वर्ष पौष शुक्ल पूर्णिमादेखि सुरु भई माघ शुक्ल पूर्णिमासम्म चल्ने यो मेला आज (माघ १८ गते) समापन भएको हो ।

एक महिनासम्म चल्ने यो कठिन व्रतको अन्तिम दिन आज व्रतालुहरूले त्रिवेणी धाममा स्नान गरी सूर्यलाई अर्घ्य अर्पण गर्दै माधवनारायणको पूजा र होमयज्ञादी गरेका थिए ।

पुजारी सरोजन शर्माका अनुसार यो मेला साँखुको शालिनदीमा लाग्ने मेलाभन्दा पनि पुरानो भएको ऐतिहासिक मान्यता छ । नेपाल संवत्को आठौँ शताब्दीबाट सुरु भएको यो व्रतको व्यवस्थापन तत्कालीन मल्ल राजा रणजित मल्ल आफैँ उपस्थित भएर गराएको शिलालेख (ने.सं ७२२) मा उल्लेख रहेको शर्माले जानकारी दिए । यहाँस्थित त्रिवेणीघाटमा डुबेर एकचित्त भई वर मागे मनोकामना पूरा हुने जनविश्वास रहिआएको छ ।

यो व्रत निकै कठिन र निष्ठापूर्ण मानिन्छ । व्रतालु विनोदकुमार प्रजापतिका अनुसार एक महिनाको अवधिमा व्रतालुहरूले खाली खुट्टा पैदल नै विभिन्न शक्तिपीठको यात्रा गरेका थिए । व्रतालुहरूले तिलमाधवदेखि तलेजु भवानीसम्म, पनौती पुगेर त्रिवेणीमा स्नान गरी इन्द्रेश्वर महादेवको दर्शन, पशुपतिनाथको दर्शन तथा जयवागेश्वरी हुँदै ताम्रेश्वर महादेवसम्म कलश यात्रा गरेका थिए ।

यस्तै, द्वादशीमा चाँगुनारायणस्थित शङ्खदहमा स्नान गरी चाँगुनारायणको दर्शन गरेका उनीहरूले आज अन्तिम दिन नगर परिक्रमा गरी राजा भूपतिन्द्र मल्लको मूर्तिमा इन्द्रकलश चढाएर व्रत समापन गरेका हुन् ।

माधवनारायण व्रत समितिका अनुसार यस वर्ष महिला र पुरुष गरी ३५ जनाले एक महिना लामो कठिन व्रत बसेका थिए । समापनको दिन आज भने २०० भन्दा बढी महिलाले त्रिवेणीधाममा आएर स्नान गरेका छन् । त्रिवेणी धाममा एक महिनासम्म गणेश, कुमार, फूल ल्याउने माली र पाँच जना गुरु पुरोहितले पूजा व्यवस्थापन गरेका थिए ।

धार्मिक महत्व बोकेको हनुमानघाटस्थित हनुमन्ते खोलामा पानीको सट्टा ढल बग्न थालेपछि भने यहाँ व्रत बस्नेको सङ्ख्या घट्दै गएको छ । भक्तपुर नगरपालिकाको ढल सोझै खोलामा मिसिँदा नदी दुर्गन्धित बनेको छ ।

मेला सञ्चालनका लागि नगरपालिकाले खोलामा डोजर लगाएर खाल्डो बनाई इनारको पानी जम्मा गरेर स्नानको वैकल्पिक व्यवस्था मिलाएको थियो । ढल व्यवस्थापन गरी खोलालाई स्वच्छ बनाउन सके व्रतालुको सङ्ख्या बढ्ने स्थानीय र भक्तजनको भनाइ छ ।