राष्ट्रपति पौडेल जापान प्रस्थान, जापानी सम्राटसँग राजकीय भेट हुने

काठमाडौँ, १९ माघ । राष्ट्रपति रामचन्द्र पौडेल मित्रराष्ट्र जापानको औपचारिक भ्रमणका लागि आज (सोमबार) त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।

नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठका अवसरमा जापानी सरकारको विशेष निमन्त्रणामा उहाँ त्यसतर्फ लाग्नुभएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, मन्त्रीगण, सुरक्षा निकायका प्रमुखहरू र नेपालका लागि जापानी राजदूतले राष्ट्रपति पौडेललाई बिदाइ गर्नुभयो ।

राष्ट्रपतिको टोलीमा प्रथम महिला सविता पौडेल, नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू र राष्ट्रपति कार्यालयका पदाधिकारीहरू सहभागी हुनुहुन्छ । राष्ट्रपति पौडेल यही माघ २१ गते स्वदेश फर्कने कार्यतालिका रहेको छ ।

भ्रमण कार्यतालिका यस्तो छ:
माघ १९ (आज): नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवको अवसरमा जापान सरकारद्वारा आयोजित विशेष स्वागत समारोहमा सहभागिता ।
माघ २०: टोकियोस्थित इम्पेरियल प्यालेसमा जापानका सम्राट नारुहितोसँग राजकीय शिष्टाचार भेटवार्ता ।
माघ २०: जापानका प्रधानमन्त्री सुश्री ताकाइची सानाएसँग द्विपक्षीय भेटवार्ता ।
अन्य भेटघाट: जापानका विदेश राज्यमन्त्री होरिइ इवाओसँगको शिष्टाचार भेट, जापानी व्यावसायिक समुदायसँगको बैठक र नेपाली दूतावासले आयोजना गर्ने स्वागत समारोहमा सहभागिता ।

नेपाल र जापानबीचको सम्बन्ध सन् १८९९ मा जापानी भिक्षु रेभ एकाइ कावागुचीको नेपाल भ्रमणबाट सुरु भएको मानिन्छ । औपचारिक रूपमा भने १ सेप्टेम्बर १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो । सन् १९०२ मा आठ नेपाली विद्यार्थी उच्च शिक्षाका लागि जापान गएपछि जनस्तरको सम्बन्ध झन् प्रगाढ बनेको थियो । पछिल्लो समय सन् २०१९ मा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले सम्राट नारुहितोको राज्याभिषेकमा भाग लिन जापानको भ्रमण गर्नुभएको थियो ।

जापानले सन् १९५४ देखि नै नेपालको सामाजिक–आर्थिक विकासमा महत्त्वपूर्ण सहयोग पुर्‍याउँदै आएको छ । विशेष गरी पूर्वाधार विकासमा जापानको भूमिका उल्लेखनीय छ ।