दैनिक १० देखि ३० मिनेट घाम ताप्न चिकित्सकको सुझाव

भिटामिन ‘डी’ को कमीले स्वास्थ्यमा गम्भीर जोखिम

काठमाडौँ, माघ १९ । मानव शरीरको समग्र स्वास्थ्यका लागि महत्वपूर्ण मानिने भिटामिन ‘डी’ को कमीले विभिन्न जटिल स्वास्थ्य समस्या निम्त्याउने चिकित्सकहरूले बताएका छन् । ‘सनसाइन भिटामिन’ को रूपमा चिनिने यो तत्वको अभाव पछिल्लो समय सबै उमेर समूहका व्यक्तिहरूमा बढ्दो क्रममा देखिएको छ ।

भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन, इन्डोक्राइनोलोजिस्ट तथा एसोसिएट प्रोफेसर डा. कल्याण सापकोटाका अनुसार भिटामिन ‘डी’ केवल एक भिटामिन मात्र नभई शरीरका लागि आवश्यक हर्मोन पनि हो । मानिसको छालामा सूर्यको प्रकाश पर्दा शरीरले आफैं यसको उत्पादन गर्छ । तर, पछिल्लो समय आधुनिक जीवनशैली र बाह्य वातावरणसँगको कम सम्पर्कका कारण धेरैमा यसको कमी देखिएको डा. सापकोटा बताउनुहुन्छ ।

डा. सापकोटाका अनुसार एक वर्ष मुनिका शिशुका लागि दैनिक ४०० युनिट र वयस्कका लागि दैनिक १००० युनिट भिटामिन ‘डी’ आवश्यक पर्छ । यसको मुख्य स्रोत घामको प्रकाश र केही निश्चित खाद्यवस्तुहरू हुन् । विशेषगरी मासु, अण्डा तथा दुग्धजन्य पदार्थमा यो भिटामिन पाइन्छ । नेपालमा खानामा फोर्टिफाइड सामग्री (थप पोषक तत्व मिसाइएको) प्रयोग गर्ने प्रचलन कम भएकाले पनि प्राकृतिक स्रोत र सप्लिमेन्टमा निर्भर हुनुपर्ने अवस्था रहेको उहाँको भनाइ छ ।

भिटामिन ‘डी’ प्राप्त गर्न बिहान १० देखि दिउँसो ३ बजेसम्मको घाम सबैभन्दा प्रभावकारी हुने चिकित्सकको सुझाव छ । डा. सापकोटा भन्नुहुन्छ, “दिनको १० देखि ३० मिनेटसम्म सिधै छालामा घाम लाग्ने गरी बस्नुपर्छ । घाम ताप्दा सनस्क्रिन क्रिम लगाउनु हुँदैन र शरीरका अंगहरू कपडाले पुरै ढाकिएको हुनु हुँदैन, तब मात्र शरीरले भिटामिन उत्पादन गर्न सक्छ ।”

भिटामिन ‘डी’ ले शरीरमा क्याल्सियमको सन्तुलन कायम राख्न, हड्डी र मांसपेशी बलियो बनाउन तथा रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्छ । यसको कमी भएमा शरीर र मांसपेशी दुख्ने तथा कमजोरी महसुस हुने, हड्डी कमजोर भई सजिलै भाँचिने जोखिम (अस्टियोपोरोसिस), बालबालिकामा उचाइ नबढ्ने र खुट्टा बाङ्गो हुने (रिकेट्स), अत्यधिक थकान महसुस हुने, दीर्घरोग, क्यान्सर र विभिन्न सङ्क्रमणको जोखिम बढ्ने जस्ता समस्या हुन सक्छन् ।

जाडो महिनामा घामको प्रकाश पर्याप्त नहुने हुँदा खानपानमा ध्यान दिन र आवश्यकता अनुसार चिकित्सकको सल्लाहमा सप्लिमेन्ट प्रयोग गर्न डा. सापकोटाले आग्रह गर्नुभएको छ । अस्पतालमा भिटामिन ‘डी’ को कमीका कारण उत्पन्न हुने समस्या लिएर आउने बिरामीको संख्या बढ्दै गएकाले समयमै सचेत रहन उहाँले सुझाव दिनुभएको छ ।