नेपालमा निपाह भाइरसको जोखिम न्यून : तैपनि सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ,  माघ १९ । छिमेकी मुलुकहरूमा निपाह भाइरसको सङ्क्रमण देखिएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा पनि उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले दक्षिण-पूर्वी एसियामा यसको जोखिम न्यून रहेको मूल्याङ्कन गरे पनि पूर्वतयारीका लागि मन्त्रालयले देशभरका स्वास्थ्य निकायहरूलाई सचेत गराएको हो ।

मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले निपाह भाइरसको पहिचान र परीक्षणका लागि ‘अन्तरिम परीक्षण एल्गोरिदम’ तयार गरी कार्यान्वयनमा ल्याएको छ । मन्त्रालयका प्रवक्ता एवं स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन एकाइ प्रमुख डा. प्रकाश बुढाथोकीले आज एक विज्ञप्ति जारी गर्दै नागरिकलाई नआत्तिन तर व्यक्तिगत सरसफाइ र जनस्वास्थ्यका मापदण्ड पालना गर्न अनुरोध गर्नुभएको छ ।

प्रवक्ता डा. बुढाथोकीले फलफूल राम्ररी पखालेर मात्र खान, तरकारी राम्रोसँग पकाउन र पानी उमालेर मात्र पिउन सुझाव दिनुभएको छ । यस्तै, जनावरका गोठ तथा फार्महरू सफा राख्न, मासु काट्दा पन्जा र मास्कको प्रयोग गर्न, साबुनपानीले नियमित हात धुन र भीडभाडमा मास्क लगाउन मन्त्रालयले आग्रह गरेको छ ।

चिकित्सकहरूका अनुसार निपाह भाइरस सङ्क्रमित चमेराको र्‍याल, पिसाब वा मलमूत्रले दूषित बनाएका फलफूल सेवन गर्दा मानिसमा सर्न सक्छ । साथै, सङ्क्रमित व्यक्तिसँगको नजिकको सम्पर्क वा सङ्क्रमित सुँगुरबाट समेत यो भाइरस सर्न सक्ने बताइएको छ ।

यसका मुख्य लक्षणहरूमा ज्वरो आउने, टाउको र मांसपेशी दुख्ने, खोकी लाग्ने, सास फेर्न गाह्रो हुने, चक्कर लाग्ने र बान्ता हुने रहेका छन् । गम्भीर अवस्थामा बिरामी बेहोससमेत हुन सक्ने भएकाले यस्ता लक्षण देखिएमा तुरुन्त नजिकको स्वास्थ्य संस्था वा मन्त्रालयको हटलाइन नम्बर १११५ मा सम्पर्क गर्न चिकित्सकहरूले सुझाएका छन् ।

मन्त्रालयले शङ्कास्पद बिरामीको शीघ्र पहिचान, आइसोलेसन र सङ्क्रमण रोकथामका लागि आवश्यक सबै कदम चाल्न मातहतका निकायहरूलाई निर्देशनसमेत दिएको छ ।