चन्द्रगढी विमानस्थलमा खैरो हिरोइनसहित युवती पक्राउ, गिरोहका अन्य दुई सदस्य काठमाडौँबाट समातिए

भद्रपुर, २० माघ । झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलबाट ठूलो परिमाणको लागूऔषध खैरो हिरोइनसहित एक युवती पक्राउ परेकी छन् । यति एयरलायन्सको उडानमार्फत काठमाडौँ जान लागेकी हुम्लाको खार्पुनाथ गाउँपालिका–२ की २६ वर्षीया रोशनी बुढालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

सोमबार अपराह्न ५:३५ बजे विमानस्थलको नियमित सुरक्षा जाँचका क्रममा बुढाको साथबाट १४४ ग्राम ४०० मिलिग्राम खैरो हिरोइन बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनले सुरुवालको दुवै गोजीमा लुकाएर उक्त लागूऔषध लैजान लागेको अवस्थामा प्रहरी टोलीले फेला पारेको थियो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार पक्राउ परेकी बुढा विगत दुई वर्षदेखि भारतको कोलकातास्थित एक जापानी रेस्टुरेन्टमा वेटरका रूपमा कार्यरत थिइन् ।

प्रहरीको प्रारम्भिक अनुसन्धान र बुढाको बयानका आधारमा उक्त लागूऔषध कारोबारमा संलग्न गिरोहका अन्य दुई सदस्यलाई पनि प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले सिन्धुपाल्चोक, पाँचपोखरीका ३० वर्षीय सन्तोष बञ्जारा र रामेछाप, दोरम्बाका २१ वर्षीय थोर्मस तामाङलाई पक्राउ गरेको हो । उनीहरूमाथि लागूऔषध ओसारपसार र कारोबारको मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

हाल रोशनी बुढालाई झापा जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर कानूनी प्रक्रिया अगाडि बढाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *