मकवानपुरमा चुनावी सरगर्मी तीव्र: उम्मेदवारहरू घरदैलोमा व्यस्त
काठमाडौँ, माघ २२ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै मकवानपुर जिल्लाका सहरी तथा ग्रामीण क्षेत्रमा चुनावी चहलपहल ह्वात्तै बढेको छ । निर्वाचनमा सहभागी हुने राजनीतिक दलका नेता तथा उम्मेदवारहरू मत माग्न मतदाताको घरदैलोमा पुग्न थालेपछि जिल्लाभर चुनावी रौनक छाएको हो ।
जिल्लाको मुख्य बजार हेटौँडासहित बागमती, बकैया, मकवानपुरगढी, मनहरी, राक्सिराङ्ग र कैलाश गाउँपालिकाका विभिन्न वडाहरूमा उम्मेदवारहरूको सक्रियता बढेको छ । मतदाता रिझाउन र चुनावी रणनीति तय गर्न राजनीतिक दलहरूले आन्तरिक बैठक, भेला तथा प्रशिक्षण कार्यक्रमहरूलाई तीव्रता दिएका छन् ।
नेपाली कांग्रेस मकवानपुरका सचिव भीमसेन महतका अनुसार चुनावी अभियानका लागि जिल्लाका सबै वडामा पार्टी प्रतिनिधिहरू परिचालन गरिसकिएको छ। यस्तै, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका दलहरूले पनि स्थानीय तहसम्मै निर्वाचन परिचालन एवं प्रचारप्रसार समिति गठन गरी अभियानलाई अगाडि बढाएका छन्।
निर्वाचन क्षेत्रगत उम्मेदवारीको अवस्था
क्षेत्र नम्बर १:
यो क्षेत्रमा २३ जना उम्मेदवार चुनावी मैदानमा हुनुहुन्छ। मुख्य प्रतिस्पर्धीका रूपमा नेपाली कांग्रेसबाट महालक्ष्मी उपाध्याय (डिना), नेकपा एमालेका रामेश्वर राणा, राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपकबहादुर सिंह र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश गौतम देखिनुभएको छ । यस्तै, नेपाली कम्युनिष्ट पार्टीका विजय गौतम, प्रगतिशील लोकतान्त्रिक पार्टीका तेजप्रसाद उप्रेती र श्रम संस्कृति पार्टीकी विद्या श्रेष्ठ पनि प्रतिस्पर्धामा हुनुहुन्छ ।
क्षेत्र नम्बर २:
कुल २१ जना प्रत्याशी रहेको यस क्षेत्रमा नेकपा एमालेका महेशकुमार बर्तौला, नेपाली कांग्रेसका बुद्ध लामा र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रशान्त उप्रेतीबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। यसैगरी नेपाली कम्युनिष्ट पार्टीका लवशेर विष्ट, राप्रपाका रामबहादुर थोकर, प्रगतिशील लोकतान्त्रिक पार्टीका सन्तोष विष्ट र श्रम संस्कृति पार्टीका युनिश लामा पनि चुनावी अभियानमा सक्रिय हुनुहुन्छ ।
निर्वाचनको मिति नजिकिँदै जाँदा उम्मेदवारहरूले विकास निर्माणका एजेन्डा र प्रतिबद्धतासहित मतदाताको विश्वास जित्ने प्रयास गरिरहेका छन् ।
