निर्वाचन सुरक्षाका लागि ४ हजारभन्दा बढी प्रहरीलाई विशेष प्रशिक्षण सुरु

काठमाडौँ, २२ माघ । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई भयरहित र सुरक्षित वातावरणमा सम्पन्न गराउने उद्देश्यले नेपाल प्रहरीले आफ्ना कर्मचारीहरूलाई विशेष प्रशिक्षण दिन सुरु गरेको छ। बुधबारदेखि प्रहरी प्रधान कार्यालयमा ‘निर्वाचन लक्षित प्रशिक्षण’ कार्यक्रमको शुभारम्भ गरिएको हो।

प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजनाअन्तर्गत निर्वाचन सुरक्षामा खटिने प्रहरी कर्मचारीहरूलाई कार्यकुशलता अभिवृद्धि गर्न यो तालिम प्रदान गरिएको हो। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पहिलो चरणमा प्रहरी प्रधान कार्यालय, विभिन्न ब्यूरोहरू र नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा कार्यरत ४ हजार १४८ जना प्रहरी कर्मचारीहरूलाई सहभागी गराइनेछ।

प्रहरी वरिष्ठ नायब निरीक्षकदेखि प्रहरी कार्यालय सहयोगीसम्मका कर्मचारीहरू सहभागी हुने यो प्रशिक्षण १० दिनसम्म चरणबद्ध रूपमा सञ्चालन हुनेछ। काठमाडौँ बाहिर पनि सबै जिल्ला प्रहरी कार्यालयमा गठन गरिएका ‘निर्वाचन सेल’ मार्फत सुरक्षाकर्मीहरूलाई यस्तै प्रकृतिको तालिम दिइने प्रहरीले जनाएको छ।

तालिममा निर्वाचन सुरक्षाको परिचय, सुरक्षा व्यवस्थापनमा प्रहरीको भूमिका, र मतदान केन्द्र निर्माण गर्दा ध्यान दिनुपर्ने प्राविधिक पक्षबारे जानकारी दिइनेछ। त्यसैगरी, निर्वाचनका बेला आइपर्न सक्ने चुनौतीहरू, आम नागरिकले प्रहरीबाट राख्ने अपेक्षा, र प्रहरीको दायित्वका विषयमा पनि प्रशिक्षण केन्द्रित रहनेछ।

यसका साथै निर्वाचन आचारसंहिता-२०८२, सामाजिक सञ्जाल उपयोगसम्बन्धी नीति-२०७७, प्रहरी ऐन-२०१२ र प्रहरी नियमावली-२०७१ मा रहेका कानुनी प्रावधान तथा अपराध एवं दण्ड सजायसम्बन्धी व्यवस्थाबारे समेत सुरक्षाकर्मीहरूलाई सुसूचित गराइने छ।

यस विशेष प्रशिक्षणले निर्वाचनको समयमा सुरक्षाकर्मीलाई आफ्नो जिम्मेवारी निर्वाह गर्न थप सक्षम बनाउने विश्वास लिइएको छ।