राष्ट्रपति पौडेलद्वारा राष्ट्रियसभाको चालू अधिवेशन अन्त्य

काठमाडौँ, २८ माघ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियसभाको चालू अधिवेशन अन्त्य गर्नुभएको छ । मन्त्रिपरिषद्को सिफारिसमा आगामी फागुन १ गते मध्यरातदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरिएको हो ।

राष्ट्रपति कार्यालय शीतल निवासले बिहीबार एक विज्ञप्ति जारी गर्दै मन्त्रिपरिषद्को यही माघ २६ गतेको बैठकको निर्णय र सिफारिस बमोजिम नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम अधिवेशन अन्त्य गरिएको जनाएको छ ।

यसअघि सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले गत माघ ४ गते राष्ट्रियसभाको अधिवेशन आह्वान गर्नुभएको थियो । करिब एक महिनासम्म चलेको यो अधिवेशनमा विभिन्न समसामयिक विषय र विधेयकहरूमाथि छलफल भएको थियो ।

फागुन १ गते राति १२ बजेपछि राष्ट्रियसभाको वर्तमान अधिवेशन स्वतः अन्त्य हुने शीतल निवासले जनाएको छ ।