प्रतिनिधिसभा निर्वाचन भयरहित बनाउन राष्ट्रियसभा सदस्यहरूको माग

काठमाडौँ, १ फागुन । राष्ट्रियसभाका सदस्यहरूले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई निष्पक्ष, धाँधलीरहित र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

बिहीबार बसेको राष्ट्रियसभा बैठकको ‘शून्य समय’ मा बोल्दै सांसदहरूले निर्वाचनको सुरक्षा तयारीदेखि देशका समसामयिक समस्याहरूका बारेमा सदनको ध्यानाकर्षण गराएका हुन् ।

सांसद शारदादेवी भट्टले निर्वाचन आउन अब २० दिन मात्र बाँकी रहेको उल्लेख गर्दै देशभर त्रासमुक्त र संयमित वातावरण निर्माण गर्न सरकारसँग माग गर्नुभयो । उहाँले लोकतन्त्रको सुदृढीकरणका लागि स्वच्छ निर्वाचन अपरिहार्य रहेको बताउँदै त्यसका लागि आवश्यक सुरक्षा र प्रशासनिक प्रबन्ध मिलाउन आग्रह गर्नुभयो ।

यस्तै, सांसद सुमित्रा विसीले पछिल्लो समय देशका विभिन्न भागमा हत्या र हिंसाका घटनाहरू बढ्दै गएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले शान्ति सुरक्षाको अवस्था मजबुत बनाउन, अपराधीलाई तत्काल कानुनी दायरामा ल्याउन र पीडितलाई न्याय दिलाउन सरकार सक्रिय हुनुपर्नेमा जोड दिनुभयो ।

बैठकमा सांसद गङ्गाकुमारी बेल्वासेले दैलेख जिल्लामा पहिचान भएको पेट्रोलियम पदार्थको उत्खनन कार्यलाई गति दिन माग गर्नुभयो । व्यावसायिक उत्पादन सुरु गरेर मुलुकको आन्तरिक आवश्यकता पूर्ति गर्न र परनिर्भरता घटाउन सरकारले ठोस कदम चाल्नुपर्ने उहाँको भनाइ थियो ।

अर्का सांसद गोपाल भट्टराईले समाजकल्याण परिषद्मा कार्यरत करार सेवाका कर्मचारीहरूलाई विना ठोस कारण निष्कासन गरिएको विषय उठान गर्नुभयो । उहाँले कर्मचारीहरूको रोजीरोटी खोसिएको भन्दै उक्त निर्णयको समीक्षा गर्न माग गर्नुभयो ।

राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले जनसरोकारका विषयमा सरकार जवाफदेही हुनुपर्ने र निर्वाचनको मुखमा शान्ति सुरक्षाको प्रत्याभूति हुनुपर्ने धारणा राखेका थिए ।