१५ दिने चुनावी प्रचार–प्रसार आजदेखि सुरु, आचारसंहितामा ‘शून्य सहनशीलता’
काठमाडौँ, ४ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल र उम्मेदवारहरूले आजदेखि औपचारिक रूपमा प्रचार–प्रसार गर्न पाउने भएका छन् । निर्वाचन कानुनअनुसार मतदान हुने दिनभन्दा १५ दिनअघि मात्र जुलुस, आमसभा, कोणसभा र सञ्चारमाध्यममार्फत प्रचार गर्न पाइने व्यवस्था बमोजिम आजदेखि चुनावी सरगर्मी सुरु भएको हो ।
निर्वाचन आयोगले आजदेखि फागुन १८ गते राति १२ बजेसम्मका लागि प्रचार–प्रसारको समय सीमा तोकेको छ । यस अवधिमा उम्मेदवारहरूले मतदातासमक्ष पुगेर मत माग्न, सञ्चारमाध्यममा विज्ञापन दिन र सार्वजनिक सभाहरू आयोजना गर्न पाउनेछन् ।
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता पालनामा विशेष कडाइ गरेको छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आचारसंहिता उल्लङ्घन गर्नेमाथि ‘शून्य सहनशीलता’ को नीति अवलम्बन गरिएको जानकारी दिनुभयो । आचारसंहिता उल्लङ्घनको प्रमाण र अवस्था हेरेर स्पष्टीकरण सोध्ने, जरिवाना गर्ने र उम्मेदवारी समेत खारेज गर्न सक्ने कानुनी व्यवस्था रहेको उहाँले स्पष्ट पार्नुभयो ।
यसैगरी, आयोगले सामाजिक सञ्जाल र अनलाइन माध्यमबाट फैलाइने मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति माथि कडा निगरानी राख्ने भएको छ । राजनीतिक दल र उम्मेदवारले आमसभा वा कोणसभा गर्दा मञ्च तयारीमा भएको खर्चको विवरण अनिवार्य रूपमा निर्वाचन कार्यालयमा बुझाउनुपर्नेछ । आचारसंहिता दलहरूकै प्रतिबद्धतामा तर्जुमा गरिएकाले यसको पूर्ण पालना हुनेमा आयोग विश्वस्त देखिएको छ ।