निर्वाचन खर्च व्यवस्थापनका लागि ललितपुरका २३ उम्मेदवारले लिए बैंक खाता खोल्ने सिफारिस

ललितपुर, ४ फागुन । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि ललितपुरका तीनवटै निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिएकामध्ये २३ जना उम्मेदवारले बैंक खाता खोल्न सिफारिस लिएका छन् । निर्वाचन प्रचारप्रसारको खर्चलाई पारदर्शी बनाउन जिल्ला निर्वाचन कार्यालयबाट उनीहरूले यस्तो सिफारिस लिएका हुन् ।

जिल्ला निर्वाचन कार्यालय ललितपुरकी सूचना अधिकारी समिता बस्नेतका अनुसार हालसम्म विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी २३ जना उम्मेदवारले सिफारिस पत्र बुझिसकेका छन् । जिल्लामा तीनवटा क्षेत्रमा गरी कूल ७१ जनाले उम्मेदवारी दर्ता गराएकोमा बाँकी उम्मेदवारहरू पनि सिफारिस लिने क्रममा रहेका छन् ।

निर्वाचन आयोगले जारी गरेको ‘प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसार बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८२’ बमोजिम प्रत्येक उम्मेदवारले निर्वाचन प्रयोजनका लागि छुट्टै बैंक खाता खोल्नु अनिवार्य छ । उक्त कार्यविधिले निर्वाचन खर्चलाई व्यवस्थित र नियमन गर्नका लागि बैंकमार्फत मात्र कारोबार गर्नुपर्ने व्यवस्था गरेको हो ।

ललितपुर क्षेत्र नं. १ मा सबैभन्दा बढी २८ जनाले उम्मेदवारी दिएका छन् । जसमा १२ जना स्वतन्त्र उम्मेदवार छन् भने लिङ्गका आधारमा २५ पुरुष र ३ जना महिला चुनावी मैदानमा छन् ।

यस्तै, क्षेत्र नं. २ मा २३ जना उम्मेदवार छन् । जसमा १६ जना विभिन्न राजनीतिक दलका र ७ जना स्वतन्त्र उम्मेदवार रहेका छन् । यस क्षेत्रमा महिला उम्मेदवारको सङ्ख्या २ रहेको छ ।

क्षेत्र नं. ३ मा सुरुमा २३ जनाले मनोनयन दर्ता गराएकोमा ३ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि अहिले २० जना उम्मेदवार कायम रहेका छन् । आयोगले तोकेको सीमाभित्र रहेर चुनावी खर्च गर्न र सोको विवरण बैंक खातामार्फत पारदर्शी राख्न निर्वाचन कार्यालयले सबै उम्मेदवारलाई आग्रह गरेको छ ।