रास्वपा मधेशकी संस्थापक सभापति शर्माद्वारा राजीनामा, आर्थिक चलखेल र विधि मिचेको आरोप

काठमाडौं, ६ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की मधेश प्रदेश संस्थापक सभापति ममता शर्माले पार्टीबाट राजीनामा दिएकी छन्। पार्टीले अंगीकार गरेका सिद्धान्त र व्यवहारमा तालमेल नमिलेको तथा आर्थिक अनियमितता हावी भएको आरोप लगाउँदै उनले मंगलबार पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएकी हुन्।

शर्माले एक विज्ञप्ति जारी गर्दै रास्वपाको ‘जान्नेलाई छान्ने’ र ‘राजनीतिमा युवा पुस्ता’ भन्ने मूल नारा केवल नारामा मात्र सीमित भएको टिप्पणी गरेकी छन्। उनले भनिन्, ‘पार्टीमा आबद्ध हुँदा जुन उत्साह थियो, अहिले पार्टीको कार्यशैली, निर्णय प्रक्रिया र स्थापनाकालीन मूल्य–मान्यता ठीक विपरीत दिशामा गएको अनुभूति भएको छ।’

आसन्न फागुन २१ गतेको निर्वाचनका सन्दर्भमा पार्टीले लिएको निर्णय प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै उनले पार्टीभित्र इमानदार र दिनरात खटिने कार्यकर्ताको मूल्यांकन हुन छाडेको गुनासो गरिन्। शर्माले पार्टी नेतृत्वमाथि गम्भीर आरोप लगाउँदै निर्णयहरू आर्थिक अनियमितताबाट प्रेरित भएको दाबी गरेकी छन्।

विज्ञप्तिमा उनले भनेकी छन्, ‘मूलतः आर्थिक अनियमितताबाट पार्टीका निर्णयहरू प्रेरित हुन थालेपछि मेरो आत्मसम्मान र राजनीतिक मूल्यमान्यतामा आँच आउने परिस्थिति बन्यो। यी गलत क्रियाकलापको साक्षी बसेर मौन रहिरहन म असमर्थ छु।’

रास्वपाको संगठन विस्तारमा मधेशका आठै जिल्लामा सक्रिय भूमिका निर्वाह गरेकी शर्मा पछिल्लो समय टिकट वितरण प्रक्रियालाई लिएर असन्तुष्ट थिइन्। उनले पार्टी प्रवक्ता मनिष झा र नेता अमेश सिंह लगायतको मिलेमतोमा सभापति रवि लामिछानेले आर्थिक प्रलोभनमा परी अरूलाई नै टिकट दिएको आरोप लगाएकी छन्।

संस्थापक सभापति हुँदाहुँदै पनि आफूलाई टिकट नदिइएको र यसबारे नेतृत्व तहमा बारम्बार प्रश्न गर्दा पनि बेवास्ता गरिएपछि बाध्य भएर राजीनामा दिनुपरेको शर्माले बताएकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *