काठमाडौँमा लागुऔषध कारोबारमा ९९ जना पक्राउ, ६५ मुद्दा दर्ता
काठमाडौँ, ६ फागुन । जिल्ला प्रहरी परिसर काठमाडौँले गत माघ महिनामा लागुऔषध ओसारपसार तथा कारोबारमा संलग्न ९९ जनालाई पक्राउ गरेको छ। काठमाडौँका विभिन्न क्षेत्रमा सञ्चालित विशेष खोजी अभियानका क्रममा पक्राउ परेका उनीहरूविरुद्ध प्रहरीले ६५ वटा मुद्दा दर्ता गरी कानुनी कारबाही अगाडि बढाएको छ।
परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार पक्राउ पर्नेमा सात महिला र ९२ पुरुष रहेका छन्। प्रहरीले उनीहरूको साथबाट ठुलो परिमाणमा प्रतिबन्धित लागुऔषध समेत बरामद गरेको छ। बरामद गरिएका लागुऔषधमा ५५.१८ ग्राम खैरो हेरोइन, २३ हजार ३०० ट्याब्लेट ट्रमाडोल र दुई हजार ८१३ एम्पुल नाइट्राजेपाम रहेका छन्।
यसैगरी, प्रहरीले दुई किलो गाँजा, ९३ एम्पुल डाइजेपाम, ६२ एम्पुल फेनारगन, १५१ एम्पुल नुर्फिन, १० एम्पुल नाइट्राभेट, १२६ क्याप्सुल स्पामो र ६७८ ग्राम पोल्याण्ड समेत बरामद गरेको प्रवक्ता भट्टराईले जानकारी दिए।
यसैबिच, काठमाडौँमा आत्महत्याका घटनाको तथ्याङ्क पनि चिन्ताजनक देखिएको छ। प्रहरीका अनुसार गत एक महिनाको अवधिमा काठमाडौँमा ३६ वटा आत्महत्याका घटना भएका छन्। आत्महत्या गर्नेहरूमध्ये १९ देखि ३९ वर्ष उमेर समूहका व्यक्तिहरूको सङ्ख्या अधिक छ। यस उमेर समूहका २७ जनाले ज्यान गुमाएका छन् भने कुल मृतकमा २४ जना पुरुष रहेका छन्।
त्यस्तै, अनुचित लेनदेन (मिटरब्याज) तर्फ प्रहरीले सातवटा मुद्दा दर्ता गरेको छ। दर्ता भएकामध्ये दुईवटा मुद्दामा मिलापत्र गराइएको छ। ती मुद्दाहरूमा आठ करोड रुपैयाँभन्दा बढीको मागदाबी गरिएको काठमाडौँ प्रहरीले जनाएको छ।