खोटाङ जिल्ला अस्पतालमा पाठेघर खस्ने समस्याको निःशुल्क शल्यक्रिया सेवा सुरु
काठमाडौँ, फागुन ७ । खोटाङ जिल्ला अस्पतालमा पाठेघर खस्ने समस्या सम्बन्धी निःशुल्क शल्यक्रिया सहितको उपचार सेवा सुरु गरिएको छ । यो सेवाको विस्तारसँगै पाठेघरको उपचारका लागि राजधानी काठमाडौँ वा अन्य ठूला सहर धाउनुपर्ने जिल्लाबासी महिलाहरूको बाध्यता अन्त्य भएको छ । अस्पतालका प्रमुख एवं डा. अमिताब ठाकुरका अनुसार सेवा प्रारम्भ भएलगत्तै दुई जना महिलाको सफल शल्यक्रिया गरिएको छ । उहाँले भन्नुभयो, “खोटाङमा पाठेघर सम्बन्धी समस्या भएका महिलाहरू उपचारका लागि काठमाडौँ वा विराटनगर जानुपर्ने अवस्था थियो । अब हामीले अस्पतालकै विशेषज्ञता र उपलब्ध स्रोतको परिचालन गरी जिल्लामै निःशुल्क शल्यक्रिया सेवा सुनिश्चित गरेका छौँ ।”
जिल्ला अस्पतालले पाठेघरको शल्यक्रियाका साथै पाठेघरको मुखको क्यान्सर परीक्षण एवं उपचार, बाँझोपनको समस्या समाधान र दोहोर्याएर गरिने शल्यक्रियामार्फत प्रसूति सेवा (Repeat C-section) समेत सुरु गरेको छ । अस्पतालमा विशेषज्ञ सेवा र निःशुल्क उपचार उपलब्ध भएपछि लामो समयदेखि रोग लुकाएर बसेका महिलाहरू उपचारका लागि आउन थालेका छन् ।
अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा विशेषज्ञ चिकित्सकको व्यवस्था गरी सेवालाई दीर्घकालीन बनाइएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “जिल्लामै गुणस्तरीय उपचार सुनिश्चित हुनु खुसीको कुरा हो । अब कुनै पनि महिलाले उपचारकै अभावमा अकालमा ज्यान गुमाउनु पर्ने छैन ।”
यसअघि जिल्लामा शल्यक्रिया सेवा नहुँदा स्थानीय तहहरूले आफ्नै खर्चमा बिरामीहरूलाई बनेपास्थित शिर मेमोरियल अस्पताल वा अन्य सुविधायुक्त अस्पताल पठाउने गरेका थिए । हालै मात्र दिक्तेल रुपाकोट मझुवागढी र हलेसी तुवाचुङ नगरपालिकाले ३६ जना महिलालाई गाडी रिजर्भ गरी बनेपा पुर्याएर निःशुल्क उपचार गराएका थिए । जिल्ला अस्पतालमै यो सेवा सुचारु भएपछि बिरामीको समय र खर्च बचत हुनुका साथै स्थानीय तहहरूलाई समेत सहज हुने विश्वास गरिएको छ ।