उपयुक्त समय आएपछि संविधान संशोधन हुन्छ, अत्तालिएर साम्प्रदायिकता फैलाउनु, चुनावको वातावरण धमिल्याउन हाे : अध्यक्ष ओली

दमक, १० फागुन । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उपयुक्त समय आएपछि संविधान संशोधन हुने बताउनुभएकाे छ । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो निर्वाचन क्षेत्र झापा–५ को दमकमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देश र जनताको आवश्यकताअनुसार संविधान संशोधन गरिने स्पष्ट पार्नुभएकाे हाे ।

नेपाली कांग्रेससँगको सहकार्यमा सरकार बन्दा गरिएको ७ बुँदे सहमतिमा संविधान संशोधनको विषय उल्लेख गरिएको उहाँले स्मरण गर्नुभयाे । “अहिले संविधान संशोधनको कुरा निकालेर काेही सुन्नेवाला छैन,” ओलीले भन्नुभयाे, “विगतमा परिस्थिति खराब ढङ्गले अघि बढेका कारण यो विषय थाती रहेको हो । तर, देशलाई अघि बढाउन र जनताका जरुरी विषयहरूलाई समेट्न उपयुक्त समय आएपछि संविधान संशोधन हुन्छ ।”

कार्यक्रममा अध्यक्ष ओलीले आसन्न निर्वाचनमा पराजय भोग्ने निश्चित भएपछि केही तत्वहरू समाज भाँड्न लागिपरेको आरोप लगाउनुभयाे । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तर्फ लक्षित गर्दै उहाँले रौतहटको पछिल्लो घटना पनि यसैको उपज भएको दाबी गर्नुभयाे ।

चुनाव भाँड्ने, समुदायमा विद्वेष फैलाउने र अराजकता निम्त्याउने प्रयास भइरहेको भन्दै ओलीले यस्ता गतिविधि नेपाली समाजका लागि स्वीकार्य नहुने चेतावनी दिनुभयाे । “जनताबाट अस्वीकृत हुने देखिएपछि अत्तालिएर साम्प्रदायिकता फैलाउने र चुनावको वातावरण धमिल्याउने काम भइरहेको छ,” उहाँले भन्नुभयाे ।

नेकपा एमाले जनताकै बीचमा हुर्किएको र सधैँ जनताको साथमा रहेको पार्टी भएकाले आफूहरूलाई जनताको बीचमा जान कुनै समस्या नरहेको ओलीले बताउनुभयाे ।