प्रतिनिधिसभा निर्वाचन : मतदानका लागि साढे सात लाख नागरिकले छाडे काठमाडौँ उपत्यका
काठमाडौँ, फागुन १९ । यही बिहीबार हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुन काठमाडौँ उपत्यकाबाट आफ्नो गृहजिल्ला फर्कने मतदाताहरूको संख्यामा उल्लेख्य वृद्धि भएको छ । निर्वाचनका दिन आ-आफ्नो मतदान केन्द्रमा पुगेर मताधिकार प्रयोग गर्न सर्वसाधारणहरू उपत्यका छाडेर बाहिरिने क्रम तीव्र बनेको हो।
साढे सात लाखभन्दा बढीको बर्हिगमन
ट्राफिक प्रहरी नायब उपरीक्षक सुनिलजङ्ग शाहका अनुसार हालसम्म करिब ७ लाख ५० हजारभन्दा बढी व्यक्तिले उपत्यका छाडिसकेका छन्। “निर्वाचनका लागि उपत्यकाबाट बाहिरिने क्रम बुधबारसम्मै जारी रहने देखिएको छ,” डीएसपी शाहले भन्नुभयो। उहाँका अनुसार सार्वजनिक यातायातका साधनहरूमा यात्रुको अत्यधिक चाप देखिएको छ भने निजी सवारीसाधनको आवागमन पनि अघिल्ला दिनहरूको तुलनामा निकै बढेको छ।
नाका र बसपार्कहरूमा चाप
यात्रुको चाप बढेसँगै काठमाडौँबाट बाहिरिने मुख्य नाकाहरू, राजमार्ग र बसपार्कहरूमा सवारीसाधनको लामो लाम लागेको छ। यात्रुहरूको सहजता र सुरक्षालाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले थप जनशक्ति परिचालन गरेको छ। विशेषगरी कोटेश्वर, थानकोट, कलङ्की र जगाती जस्ता मुख्य नाकाहरूमा सवारी आवागमनलाई व्यवस्थित बनाउन उच्च सतर्कता अपनाइएको छ।
सुरक्षा र ट्राफिक व्यवस्थापन
यातायात व्यवस्थालाई थप सुरक्षित र व्यवस्थित बनाउन ट्राफिक प्रहरीले अन्य सुरक्षा निकायहरूसँग समन्वय गरी निगरानी बढाएको छ। “सवारीसाधनको चाप बढी हुने क्षेत्रमा अतिरिक्त ट्राफिक प्रहरी परिचालन गरिएको छ र आवश्यकताअनुसार नजिकका प्रहरी इकाइहरूसँग समन्वय गरी गस्ती बढाइएको छ,” शाहले जानकारी दिनुभयो। निर्वाचन सुरक्षाका लागि खटिएको प्रहरी टोलीले समेत यातायात व्यवस्थापनमा प्राविधिक सहयोग गरिरहेको छ।
ट्राफिक प्रहरीको आग्रह
प्रहरीले सर्वसाधारणलाई सुरक्षित र संयमित भएर यात्रा गर्न विशेष अपिल गरेको छ। क्षमताभन्दा बढी यात्रु नचढाउन, ट्राफिक नियमको पूर्ण पालना गर्न र लामो दूरीको यात्रामा निस्कनुअघि सवारीसाधनको प्राविधिक अवस्था जाँच गर्न सुझाव दिइएको छ। साथै, सडकको अवस्थाबारे पूर्वजानकारी लिएर मात्र यात्रा तय गर्न समेत प्रहरीले अनुरोध गरेको छ।