महिला भविष्य मात्र होइनन्, वर्तमान पनि हुन् : कार्यवाहक मेयर सुनिता डंगोल
काठमाडौं, २४ फागुन । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महिलाहरू समाजको भविष्य मात्र नभएर वर्तमान पनि भएको बताउनुभएकाे छ ।
११६औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले महिलाको सफलताले समाजका सबै वर्गलाई प्रेरणा दिनुपर्ने धारणा राख्नुभएकाे हाे ।
महिला सफलताको प्रभाव महिलामा मात्र सीमित हुन नहुनेमा जोड दिँदै कार्यवाहक मेयर डंगोलले भन्नुभयाे, “हामी महिलालाई भविष्य भन्छौँ, तर महिला वर्तमान पनि हुन् । महिला सफल हुँदा महिला मात्र प्रेरित हुन जरुरी छैन, पुरुष पनि उत्तिकै प्रेरित हुन आवश्यक छ ।”
संस्थागत नेतृत्वदेखि समुदायको तल्लो तहसम्म महिलाहरूले सक्रिय रूपमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको उल्लेख गर्दै उहाँले भन्नुभयाे, धेरै महिलाले आफ्नै निरन्तर सङ्घर्षबाट सफलताको बाटो कोरेको र त्यो बाटो अन्य महिलाका लागि समेत मार्गदर्शन बनेको ।
“धेरै महिलाहरू आफैंले सङ्घर्ष गरेर बाटो कोर्दै अघि बढ्नुभएको छ । यसरी बनाइएको बाटो आफ्ना लागि मात्रै होइन, समाज र अरूका लागि पनि उदाहरणीय बनेको छ,” उहाँले थप्नुभयाे ।
महिला सशक्तीकरणको विषयलाई नारा र भाषणमा मात्र सीमित राख्न नहुने बताउँदै डंगोलले आर्थिक सशक्तीकरणको आवश्यकता औंल्याउनुभयाे । महिलाहरूलाई आर्थिक रूपमा आत्मनिर्भर र सबल बनाउन काठमाडौं महानगरपालिकाले विभिन्न लक्षित कार्यक्रमहरू सञ्चालन गरिरहेको उहाँले जानकारी दिनुभयाे ।
महानगरले नीतिगत रूपमै महिलालाई उद्यमशीलतासँग जोड्न पहल गरिरहेको बताउँदै उहाँले भन्नुभयाे “महिलाको आर्थिक सशक्तीकरणलाई विशेष ध्यानमा राख्दै महानगरपालिकाले अहिले ‘एक वडा, एक नमुना कार्यक्रम’ सञ्चालन गरिरहेको छ ।” यसबाट महिलाहरूले सीप सिकेर आयआर्जन गर्न सक्ने उहँको विश्वास छ ।