सुनसरी–१ बाट प्रतिनिधिसभा सदस्यमा श्रम संस्कृतिका हर्कराज राई विजयी

सुनसरी, २४ फागुन । सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा श्रम संस्कृति पार्टीका उम्मेदवार हर्कराज राई फराकिलो मतान्तरसहित निर्वाचित भएका छन् । आफ्ना निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार गोमा तामाङलाई ८ हजार ४९२ मतान्तरले पराजित गर्दै राई सङ्घीय संसद्‌को यात्रा तय गर्न सफल भएका हुन् ।

निर्वाचन अधिकृत दिव्यराज घिमिरेले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार विजयी राईले ३५ हजार ७४१ मत प्राप्त गरेका छन् । उनकी निकटतम प्रतिस्पर्धी रास्वपाकी तामाङले २७ हजार २४९ मत ल्याइन् । त्यसैगरी, तेस्रो स्थानमा रहेका नेकपा (एमाले) का उम्मेदवार टीकाराम लिम्बूले ६ हजार ४६३ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

गत फागुन २१ गते सम्पन्न निर्वाचनमा यस क्षेत्रबाट विभिन्न १९ राजनीतिक दल र ७ स्वतन्त्र गरी जम्मा २६ जना उम्मेदवार चुनावी मैदानमा होमिएका थिए ।

धरान उपमहानगरपालिका, बराहक्षेत्र नगरपालिका र रामधुनी नगरपालिकाका गरी कुल २७ वटा वडा समेटिएको सुनसरी क्षेत्र नम्बर १ मा १ लाख ५० हजार ३९३ मतदाता दर्ता थिए । जसमध्ये ८७ हजार ८६५ जनाले मात्र आफ्नो मताधिकार प्रयोग गरेको (मत खसालेको) निर्वाचन कार्यालयको तथ्याङ्क छ ।

नयाँ शक्तिका रूपमा उदाएको श्रम संस्कृति पार्टीले सुनसरी–१ मा निकालेको यो नतिजालाई निकै चासोका साथ हेरिएको छ ।