गुल्मीको बडिगाड खोलामा माछा मार्ने क्रममा डुबेर २१ वर्षीय युवकको मृत्यु

गुल्मी, २५ फागुन । गुल्मीस्थित बडिगाड खोलामा माछा मार्ने क्रममा डुबेर एक युवकको ज्यान गएको छ। मृत्यु हुनेमा जिल्लाको मुसिकोट नगरपालिका–१, अरेवा निवासी २१ वर्षीय दीपजन दर्लामी रहेका छन्।

जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) गङ्गाबहादुर सारुका अनुसार, दर्लामी बिहीबार (गएराति) आफ्नै गाउँका ५६ वर्षीय छिमेकी डम्बर दर्लामीसँग जाल बोकेर खोलातर्फ गएका थिए। माछा मार्ने क्रममा दीपजन बेपत्ता भएपछि सँगै गएका डम्बरले घर फर्केर स्थानीय र प्रहरीलाई खबर गरेका थिए।

त्यसलगत्तै स्थानीय बासिन्दा र सुरक्षाकर्मीको टोलीले खोजी कार्य सुरु गरेको थियो। खोजतलासका क्रममा आज (शुक्रबार) बिहान मुसिकोट–१ स्थित उपल्लो राक्से क्षेत्रको बडिगाड खोलाको ‘कोप्चेरा’ भन्ने गहिरो दहमा डुबेको अवस्थामा दीपजनको शव फेला परेको प्रहरीले जनाएको छ।

घटनाको जानकारी पाउनसाथ प्रहरी चौकी पौदीअमराईबाट प्रहरी नायब निरीक्षक (सइ) लखनलाल चौधरीको नेतृत्वमा तीन जनाको प्रारम्भिक टोली घटनास्थल पुगेको थियो।

शव परीक्षण (पोस्टमार्टम) लगायत घटनाको विस्तृत अनुसन्धान र कानुनी प्रक्रियाका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुदीप नेपालीको कमान्डमा पाँच सदस्यीय प्राविधिक टोली घटनास्थलतर्फ खटिसकेको डिएसपी सारुले जानकारी दिए।