पश्चिम एसिया सङ्कट: नेपालीको सुरक्षा र उद्धारबारे आपत्कालीन प्रतिकार्य टोलीमा छलफल
काठमाडौँ, २८ फागुन । पश्चिम एसियामा बढ्दो तनावका बीच त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षा सुनिश्चित गर्न परराष्ट्र सचिव अमृतबहादुर राईको संयोजकत्वमा गठित आपत्कालीन प्रतिकार्य टोलीको दोस्रो बैठक बुधबार परराष्ट्र मन्त्रालयमा सम्पन्न भएको छ ।
बैठकमा पश्चिम एसियाली मुलुकहरूमा रहेका नेपालीको सुरक्षा र हित संरक्षणका लागि सरकारका तर्फबाट हालसम्म भएका प्रयास र प्रगतिबारे विस्तृत समीक्षा गरिएको थियो ।
परराष्ट्र मन्त्रालयका अनुसार, बैठकले नेपालीको सुरक्षा सुनिश्चित गर्न आवश्यक पर्ने कूटनीतिक समन्वय र पहललाई उच्च प्राथमिकताका साथ निरन्तरता दिने निर्णय गरेको छ । यसका साथै, आवश्यक परेको खण्डमा नागरिकको उद्धारका लागि हवाई उडान सञ्चालनको सम्भावनाबारे अध्ययन गर्ने र विदेशस्थित नेपाली नियोग तथा आपत्कालीन नियन्त्रण कक्षको सम्पर्कमा आएकाहरूलाई तत्काल सहयोग उपलब्ध गराउने निर्णयसमेत भएको छ ।
यही फागुन २१ गते अमेरिका र इजरायलले इरानविरुद्ध संयुक्त रूपमा हवाई हमला गरेपछि पश्चिम एसिया क्षेत्रमा युद्धको सन्त्रास र तनाव चुलिएको छ । वैदेशिक रोजगारीका सिलसिलामा त्यस क्षेत्रका विभिन्न मुलुकमा ठूलो सङ्ख्यामा नेपालीहरू कार्यरत रहेकाले उनीहरूको सुरक्षालाई लिएर सरकारले उच्च सतर्कता अपनाउँदै आएको छ ।