सर्लाहीमा जन्ती बोकेको स्कारपियोको ठक्करबाट एकको मृत्यु, ११ जना घाइते
सर्लाही, ३० फागुन । सर्लाहीको बरहथवामा शुक्रबार साँझ एउटा स्कारपियोले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने बिहेमा सहभागी ११ जना जन्ती घाइते भएका छन् ।
बरहथवा नगरपालिका–१० सीतापुरस्थित सडकमा बरहथवाबाट सीतापुरतर्फ जाँदै गरेको डि एल ९ सि जेड ०७७७ नम्बरको भारतीय नम्बर प्लेटको स्कारपियोले पैदल हिँडिरहेका जन्तीहरूलाई ठक्कर दिएको हो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) सरोज राईका अनुसार दुर्घटनामा परी बरहथवा नगरपालिका–९ निवासी ५० वर्षीय नारायण जर्गा मगरको मृत्यु भएको छ । गम्भीर घाइते मगरलाई तत्काल उपचारका लागि नगर अस्पताल बरहथवा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।
दुर्घटनामा अन्य ११ जना घाइते भएका छन् । घाइते हुनेहरूमा रौतहट र सर्लाहीका बासिन्दा रहेका छन् । प्रहरीका अनुसार ७० वर्षीय कमल पटेल, ४५ वर्षीया बन्धना पटेल, १८ वर्षीय रुपेश मण्डल, १५ वर्षीया प्रतिमाकुमारी पटेल, १९ वर्षीय दिलीप राय, २३ वर्षीय चन्दन पासवान, १२ वर्षीया दीपिका जैसवाल, २० वर्षीय रामजी राय, २३ वर्षीय मुकेश राउत, ५५ वर्षीय रामनारायण ठाकुर र ४५ वर्षीया गुलाबकुमारी मण्डल घाइते भएका छन् ।
घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको र उनीहरूको बरहथवास्थित विभिन्न अस्पतालहरूमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि प्रहरीले स्कारपियो चालक बरहथवा नगरपालिका–१२ निवासी ४० वर्षीय नरेश ठाकुरलाई नियन्त्रणमा लिएको छ । तीव्र गतिको स्कारपियो अनियन्त्रित भई जन्तीलाई ठक्कर दिएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय बरहथवाले थप अनुसन्धान अगाडि बढाएको छ ।