सिँचाइ अभावले सुनसरीमा मकै र गहुँ बाली जोखिममा : किसान मर्कामा
काठमाडौँ, चैत १ । सुनसरी जिल्लाका विभिन्न स्थानीय तहमा लगाइएको मकै र गहुँ बालीमा सिँचाइको गम्भीर समस्या देखिएको छ । सदरमुकाम इनरुवासहित भोक्राहा नरसिंह र हरिनगर लगायतका क्षेत्रमा खेती गर्दै आएका किसानहरू बालीलाई आवश्यक पर्ने पर्याप्त पानी नपाउँदा चिन्तित बनेका हुन् । सप्तकोसी नदीको जलस्तर घटेको र सिँचाइ नहरहरूमा न्यून पानी प्रवाह भएका कारण बालीनालीमा प्रतिकूल असर पुगेको हो। इनरुवा-६ का कृषक देवनारायण यादवका अनुसार सात बिघा क्षेत्रफलमा करिब ३ लाख ५० हजार रुपियाँको लागतमा लगाइएको मकैखेती सिँचाइको अभावमा सुक्न थालेको छ। नहरमा नियमित पानी नआउँदा लगानी डुब्ने खतरा बढेको उहाँले गुनासो गर्नुभयो ।
स्थानीय कृषक माधव भण्डारीका अनुसार नहरको पानीको भरमा बाली लगाए पनि हाल आवश्यकता अनुसार पानी उपलब्ध हुन सकेको छैन। विशेषगरी शङ्करपुर शाखा नहरमा ‘पालो प्रणाली’ (रोटेसन) मार्फत पानी वितरण गरिने भएकाले माग अनुसारको सिँचाइ हुन सकेको छैन । हजारौँ हेक्टरमा लगाइएको मकै, गहुँ र तरकारी बाली जोगाउनका लागि उक्त नहरमा पर्याप्त पानीको व्यवस्था गरिदिन किसानहरूले सम्बन्धित निकायसँग माग गरेका छन् ।
कृषि ज्ञान केन्द्र इनरुवाका प्रमुख निलकमल सिंहले उपलब्ध गराउनुभएको तथ्याङ्कअनुसार सुनसरी जिल्लामा यस वर्ष १२ हजार ६३ हेक्टर क्षेत्रफलमा गहुँ र ७ हजार ५२० हेक्टर क्षेत्रफलमा मकैखेती गरिएको छ । ठूलो लगानी र मेहनतका साथ गरिएको खेती सिँचाइ अभावका कारण प्रभावित भएपछि उत्पादनमा कमी आउने भन्दै कृषकहरूले चिन्ता व्यक्त गरेका छन् ।