पूर्व सर्दै पानी पार्ने प्रणालीः सुदूरपश्चिम र लुम्बिनीमा वर्षा, काठमाडौं उपत्यका पुर्रै अँध्याराे, कतिखेर छ पानी पर्ने सम्भावना?

काठमाडौं, १ चैत्र । पश्चिमी वायुको प्रभावका कारण भित्रिएको न्यूनचापीय (पानी पार्ने) प्रणाली विस्तारै पूर्वतर्फ सर्न थालेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका पश्चिमी तथा पहाडी भूभागमा वर्षा भइरहेको छ भने यो प्रणाली गण्डकी प्रदेश हुँदै काठमाडौं उपत्यकातर्फ अघि बढिरहेको छ।

महाशाखाका अनुसार हाल सुदूरपश्चिमका बाजुरा, बझाङ, डडेलधुरा, डोटी र अछामका साथै लुम्बिनी प्रदेशका पाल्पा, गुल्मी र अर्घाखाँचीलगायत पहाडी जिल्लाहरूमा पानी परिरहेको छ।

पछिल्लो एक घण्टाको तथ्याङ्कअनुसार गण्डकी प्रदेशको अत्रौलीटारमा सबैभन्दा बढी १६.२ मिलिमिटर वर्षा मापन गरिएको छ। त्यसैगरी, रिभन केन्द्रमा ९ मिलिमिटर, तनहुँको सखरमा ६.८ मिलिमिटर वर्षा भएको छ। यो प्रणाली विस्तार हुँदै पर्साको ठोरीसम्म पुगेको छ, जहाँ ५.४ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ।

मौसमविद् विनोद पोखरेलका अनुसार पश्चिमबाट भित्रिएको यो प्रणालीले देशका केही भागमा मेघगर्जनसहित वर्षा र असिनासमेत पार्न सक्ने सम्भावना छ।

यसैगरी, मौसमविद्का अनुसार आइतबार मध्याह्न १ देखि २ बजेपछि काठमाडौं उपत्यकामा पनि बादल लाग्ने र वर्षा हुने सम्भावना रहेको जानकारी दिनुभयो। यो मौसमी प्रणाली आगामी मंगलबारसम्म देशभर सक्रिय रहने अनुमान गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *