समानुपातिक सांसदलाई बुधबार प्रमाणपत्र दिइँदै, निर्वाचन प्रक्रियाले पूर्णता पाउने
काठमाडौँ, ३ चैत्र । निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फबाट निर्वाचित सांसदहरूलाई आगामी बुधबार (चैत ५ गते) प्रमाणपत्र वितरण गर्ने भएको छ। समानुपातिकतर्फका सांसदले प्रमाणपत्र बुझेसँगै यसपटकको प्रतिनिधिसभा निर्वाचन प्रक्रियाले औपचारिक रूपमा पूर्णता पाउनेछ।
समानुपातिक निर्वाचन प्रणालीतर्फका निर्वाचन अधिकृत कृष्णबहादुर राउतका अनुसार चैत ५ गते बिहान ११ः३० बजे आयोग परिसरमै प्रमाणपत्र वितरणको कार्यक्रम तय भएको छ। आयोगले राजनीतिक दलहरूबाट सिफारिस भई निर्वाचित भएका उम्मेदवारहरूलाई प्रमाणपत्र ग्रहण गर्न आउँदा सक्कल नागरिकता वा राष्ट्रिय परिचयपत्र र दुईप्रति पासपोर्ट साइजको फोटो अनिवार्य रूपमा ल्याउन आग्रह गरेको छ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा ६ वटा राजनीतिक दलले राष्ट्रिय दलको मान्यता प्राप्त गरेका थिए। समानुपातिकतर्फका कुल ११० सिटमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा धेरै ५७ सिट जितेको छ। यसैगरी, नेपाली कांग्रेसले २०, नेकपा (एमाले) ले १६, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ९, श्रम संस्कृति पार्टीले ४ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ४ सिट प्राप्त गरेका छन्।
कुल २७५ सदस्यीय प्रतिनिधिसभामा प्रत्यक्ष (पहिलो हुने निर्वाचित हुने) प्रणालीबाट १६५ र समानुपातिक प्रणालीबाट ११० जना सांसद निर्वाचित हुने संवैधानिक व्यवस्था छ।