इन्धन सङ्कट गहिरिएपछि श्रीलङ्कामा हरेक बुधबार सरकारी कार्यालय बन्द गरिने
कोलम्बो, ३ चैत्र । चरम इन्धन अभावको सामना गरिरहेको श्रीलङ्काले इन्धन खपत घटाउन सरकारी कार्यालयको कार्यतालिकामा हेरफेर गरेको छ। सरकारले इन्धन सङ्कट व्यवस्थापनका लागि आगामी मार्च १८ देखि लागू हुने गरी हरेक हप्ताको बुधबार सरकारी कार्यालयहरूमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
अत्यावश्यक सेवाका आयुक्त प्रभात चन्द्रकीर्थीले जारी गरेको सूचनाअनुसार यो नियम लागू भएसँगै सबै सरकारी विद्यालय, विश्वविद्यालय र अदालतहरू पनि बुधबार बन्द रहनेछन्। यद्यपि, नागरिकसँग प्रत्यक्ष जोडिएका अत्यावश्यक सेवाहरू जस्तैः स्वास्थ्य सेवा, बन्दरगाह, खानेपानी आपूर्ति र भन्सार कार्यालयको सेवा भने नियमित रूपमै सञ्चालन हुनेछ।
बिदाको दिन बाहेकका बाँकी चार कार्यदिनमा कार्यालयको काम प्रभावित नहुने गरी आवश्यकताका आधारमा कर्मचारी व्यवस्थापन गर्ने अधिकार सम्बन्धित सरकारी निकायका प्रमुखहरूलाई दिइएको छ।
यसैगरी, बढ्दो इन्धन सङ्कटलाई मध्यनजर गर्दै श्रीलङ्का सरकारले अर्को सूचना जारी नभएसम्मका लागि सम्पूर्ण सरकारी औपचारिक कार्यक्रमहरू समेत स्थगित गरेको छ। सरकारले निजी क्षेत्रलाई पनि सम्भव भएसम्म इन्धन खपत कम हुने गरी यस्तै प्रकृतिको वैकल्पिक कार्यतालिका अपनाउन आग्रह गरेको छ।