निर्वाचनको अन्तिम प्रतिवेदन आज राष्ट्रपतिलाई बुझाइँदै, समानुपातिक सांसदले पाउँदै प्रमाणपत्र

काठमाडौँ, ५ चैत । निर्वाचन आयोगले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको समग्र परिणामसहितको अन्तिम प्रतिवेदन आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाउँदैछ । प्रतिवेदन बुझाउनुअघि आयोगले आजै बिहान समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित ११० जना सांसदहरूलाई प्रमाणपत्र वितरण गर्ने कार्यक्रम रहेको छ ।

आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार बिहीबार बिहान ११:३० बजे आयोगको केन्द्रीय कार्यालयमा निर्वाचित सांसदहरूलाई प्रमाणपत्र प्रदान गरिनेछ । त्यसलगत्तै दिउँसो राष्ट्रपति भवन शीतल निवास पुगेर प्रमुख निर्वाचन आयुक्तसहितको टोलीले निर्वाचनको विस्तृत विवरण समेटिएको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्ने तयारी गरिएको छ ।

आयोगले राष्ट्रपतिलाई प्रतिवेदन बुझाएसँगै नेपालको संविधान २०७२ को धारा ७६ बमोजिम नयाँ सरकार गठनको संवैधानिक प्रक्रिया सुरु हुनेछ । प्रतिवेदन प्राप्त भएपछि राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्वान गर्ने बाटो खुल्नेछ ।

यसै सन्दर्भमा आयोगले बिहीबार साँझ ५:३० बजे आफ्नो मिडिया सेन्टरमा पत्रकार सम्मेलन गरी निर्वाचनको समग्र पक्षबारे जानकारी दिने कार्यक्रम समेत तय गरेको छ ।

समानुपातिक निर्वाचनतर्फ यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ऐतिहासिक सफलता प्राप्त गर्दै ५७ सिट हात पारेको छ । अन्य दलहरूको सिट सङ्ख्या यस प्रकार छ:
नेपाली कांग्रेस: २० सिट
नेकपा (एमाले): १६ सिट
नेपाली कम्युनिष्ट पार्टी (नेकपा): ९ सिट
श्रम संस्कृति पार्टी: ४ सिट
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा): ४ सिट
प्रतिनिधिसभाका १६५ प्रत्यक्ष र ११० समानुपातिक गरी कूल २७५ सांसदहरूले प्रमाणपत्र प्राप्त गरेसँगै नयाँ संसद्को संरचनाले पूर्णता पाएको छ । आजको प्रतिवेदन बुझाउने कार्यलाई निर्वाचनको अन्तिम औपचारिक समापनका रूपमा हेरिएको छ ।