अभिनेता राजेश हमालको नाम बेचेर १२ लाख भ्रष्टाचार : गाउँपालिका अध्यक्षसहित चार जनाविरुद्ध अख्तियारको मुद्दा
काठमाडौं, ५ चैत । अभिनेता राजेश हमालको नाम र तस्बिर प्रयोग गरी वृत्तचित्र (डकुमेन्ट्री) बनाउने बहानामा सरकारी रकम हिनामिना गरेको आरोपमा अछामको ढकारी गाउँपालिकाका अध्यक्षसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक सम्पत्तिको दुरुपयोग गरी १२ लाख ७७ हजार २५० रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा उनीहरूविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
अख्तियारका अनुसार मुद्दा दायर हुनेहरूमा ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउद, निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण साह र लेखापाल विमल साउद रहेका छन् । त्यसैगरी, वृत्तचित्र निर्माणको जिम्मा पाएको आरजे ट्वान्टी फोर न्युज एवं नव इन्द्रेणी फाउन्डेसनका अध्यक्ष रामजी लम्साल (रामबहादुर लम्साल) लाई पनि यस प्रकरणमा प्रतिवादी बनाइएको छ ।
गाउँपालिकाले अभिनेता हमालको नाम जोडेर र उनकै निर्देशन रहने भन्दै चलचित्र/वृत्तचित्र निर्माणका लागि १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । तर, सार्वजनिक खरिद ऐन र नियमावलीको ठाडो उल्लंघन गर्दै विनाप्रक्रिया नव इन्द्रेणी फाउन्डेसनलाई १२ लाख ७७ हजार २५० रुपैयाँ भुक्तानी दिइएको अख्तियारको अनुसन्धानबाट खुलेको छ ।
कुनै ठोस कामै नगरी अभिनेता हमालको नाम र तस्बिर मात्र प्रयोग गरेर फर्जी कागजातका आधारमा उक्त रकम भुक्तानी गरी भ्रष्टाचार गरिएको अख्तियारको ठहर छ ।
मिलेमतोमा गाउँपालिकाको बजेट दुरुपयोग गरेको भन्दै अख्तियारले आरोपितहरूबाट हिनामिना भएको १२ लाख ७७ हजार २५० रुपैयाँलाई बिगो कायम गरेको छ । आयोगले उक्त बिगो रकम असुलउपर गर्न र कानुनबमोजिम थप कडा सजायको समेत मागदाबी गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको जनाएको छ ।