गुल्मीमा चट्याङ लागेर ६ जना घाइते, चार पशुचौपायाको मृत्यु
गुल्मी, ६ चैत । गुल्मीको मालिका गाउँपालिकाका छुट्टाछुट्टै दुई स्थानमा बुधबार दिउँसो परेको चट्याङ लागेर ६ जना घाइते भएका छन् । वर्षासँगै परेको चट्याङका कारण चारवटा पशुचौपायासमेत मरेका छन् ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) गङ्गाबहादुर सारुले दिएको जानकारीअनुसार मालिका गाउँपालिका–२ दर्लिङमा दिउँसो २:३० बजे परेको चट्याङबाट तीन महिला घाइते भएका छन् । घाइते हुनेहरूमा ३२ वर्षीया गोमा खड्का, २८ वर्षीया निरु खड्का र २९ वर्षीया विष्णु खड्का रहनुभएको छ ।
चट्याङका कारण उहाँहरूको छाती, नाक र आँखामा चोट लागेको छ । मुसिकोट नगरपालिकाको वामिटक्सारस्थित स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि थप उपचारका लागि उहाँहरूलाई जिल्ला अस्पताल तम्घास ल्याइएको डिएसपी सारुले बताउनुभयो । सोही घटनामा स्थानीय विष्णु खड्का र बाली विकका गरी तीनवटा बाख्रासमेत मरेका छन् । घटनालगत्तै प्रहरी चौकी पौँदीअमराईबाट प्रहरी नायब निरीक्षक लखनलाल चौधरीको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो ।
यसैगरी, मालिका गाउँपालिका–३ ह्वाङ्दीमा परेको अर्को चट्याङमा परी ६४ वर्षीय नारायण थापासहित उहाँका दुई नातिनीहरू ३ वर्षीया आस्मा गिरी र ६ वर्षीया आशिका गिरी घाइते हुनुभएको छ । उहाँहरू स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि घर फर्किसक्नुभएको प्रहरीले जनाएको छ ।
उक्त घटनामा स्थानीय गोकर्ण थापाको एउटा बोकासमेत जलेर मरेको छ । घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी अर्खाबाङबाट प्रहरी सहायक निरीक्षक मानबहादुर घर्तीको नेतृत्वमा टोली खटिएको थियो । पछिल्लो समय मौसममा आएको बदलीसँगै पहाडी भेगमा चट्याङको जोखिम बढेको भन्दै प्रहरीले सावधानी अपनाउन आग्रह गरेको छ ।