निजी अस्पतालको सर्वेक्षण गर्दै राष्ट्रिय तथ्याङ्क कार्यालय: वैशाखदेखि तथ्याङ्क सङ्कलन सुरु हुने
काठमाडौं, ८ चैत्र । राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर सञ्चालित निजी तथा सामुदायिक अस्पतालहरूको विस्तृत सर्वेक्षण गर्ने तयारी गरेको छ। मुलुकको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा निजी स्वास्थ्य क्षेत्रको वास्तविक योगदान कति छ भनेर पत्ता लगाउन यो सर्वेक्षण गर्न लागिएको हो।
तथ्याङ्क कार्यालयका निर्देशक तीर्थराज बरालका अनुसार, आगामी वैशाखदेखि असार मसान्तसम्म देशभरका अस्पतालमा पुगेर तथ्याङ्क सङ्कलनको काम गरिनेछ। यसका लागि करारमा कर्मचारी (गणक) छनोट गर्ने प्रक्रिया सुरु भइसकेको छ। छनोट भएका गणकहरूलाई विशेष तालिम दिएर मात्रै फिल्डमा खटाइनेछ।
यसपटकको सर्वेक्षणमार्फत निजी तथा सामुदायिक अस्पतालहरूको समग्र आर्थिक अवस्था, उनीहरूले राज्यलाई पुर्याएको योगदान र स्वास्थ्य क्षेत्रले सिर्जना गरेको रोजगारीको सङ्ख्यालगायतका महत्त्वपूर्ण तथ्याङ्क सङ्कलन गरिने निर्देशक बरालले जानकारी दिए।
कार्यालयले प्रत्येक १०/१० वर्षमा निजी स्वास्थ्य संस्थाको सर्वेक्षण गर्ने नीति लिए पनि यसपटक भने केही वर्ष ढिला हुन पुगेको छ। यसअघि सन् २०१३ मा जम्मा १०० वटा अस्पतालमा मात्रै यस्तो सर्वेक्षण गरिएको थियो। उक्त समयको तथ्याङ्कअनुसार जीडीपीमा निजी स्वास्थ्य क्षेत्रको योगदान १ प्रतिशतभन्दा कम देखिएको थियो।
तर, यसपटक भने सर्वेक्षणको दायरा फराकिलो बनाइएको छ। कार्यालयले यसपटक देशभरका करिब २ हजार ५५१ वटा निजी तथा सामुदायिक अस्पतालमा पुगेर विस्तृत अध्ययन गर्ने लक्ष्य राखेको छ। यसबाट नेपालको स्वास्थ्य अर्थतन्त्रको यथार्थ चित्र बाहिर आउने अपेक्षा गरिएको छ।