ऊर्जा केन्द्रमा आक्रमण भए ‘स्ट्रेट अफ होर्मुज’ पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी
एजेन्सी, ९ चैत । इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले यदि अमेरिका वा इजरायलले आफ्ना ऊर्जा केन्द्रहरूमा आक्रमण गरेमा विश्वको प्रमुख तेल ढुवानी मार्ग ‘स्ट्रेट अफ होर्मुज’ पूर्ण रूपमा बन्द गरिदिने चेतावनी दिएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ४८ घण्टाभित्र होर्मुज जलमार्ग खुला नगरे इरानका ऊर्जा केन्द्र (पावर प्लान्ट) नष्ट गरिदिने चेतावनी दिएपछि इरानले यस्तो कडा जवाफ फर्काएको हो।
इरानी सञ्चारमाध्यममा बयान जारी गर्दै आईआरजीसीले भनेको छ, “यदि हाम्रा ऊर्जा स्थलहरूमा आक्रमण भयो भने, ती नष्ट भएका संरचनाको पुनर्निर्माण नहुँदासम्म होर्मुज जलमार्ग बन्द गरिनेछ।”
यसका साथै, इरानले इजरायलका पावर प्लान्ट, ऊर्जा केन्द्र र आईटी क्षेत्रमा व्यापक आक्रमण गर्ने धम्की समेत दिएको छ। अमेरिकी लगानी वा हिस्सेदारी रहेका विश्वभरका जुनसुकै देशका पावर प्लान्ट र कम्पनीहरू पनि आफ्ना लागि ‘वैध निशाना’ हुने आईआरजीसीले जनाएको छ।
फारसको खाडी, ओमानको खाडी र अरब सागरलाई जोड्ने ‘स्ट्रेट अफ होर्मुज’ विश्वभरको २० प्रतिशत पेट्रोलियम पदार्थ ओसारपसार हुने एक मात्र प्रमुख समुद्री मार्ग हो। अमेरिका र इजरायलसँगको तनावपछि यस मार्गमा अघोषित नाकाबन्दीजस्तै अवस्था सिर्जना हुँदा आपूर्ति शृङ्खला प्रभावित भएको छ भने विश्व बजारमै तेलको मूल्य अकासिएको छ।
एकातिर सेनाले कडा चेतावनी दिइरहेका बेला इरानका विदेशमन्त्री अब्बास अरघचीले भने होर्मुज जलमार्ग आधिकारिक रूपमा बन्द नगरिएको स्पष्ट पारेका छन्।
सामाजिक सञ्जाल ‘एक्स’ मा लेख्दै उनले भनेका छन्, “स्ट्रेट अफ होर्मुज बन्द छैन। तेलवाहक जहाज र बीमा कम्पनीहरू अमेरिका र इजरायलले सुरु गरेको युद्धको त्रासका कारण यताबाट आवतजावत गर्न हिच्किचाइरहेका हुन्, यसको सुरुवात इरानले गरेको होइन।”
व्यापार गर्ने स्वतन्त्रताबिना समुद्री मार्गको स्वतन्त्रताको कुनै अर्थ नरहने भन्दै उनले दुवै कुराको सम्मान गर्न अमेरिका र इजरायललाई आग्रह गरेका छन्। यसैबीच, इरानी राष्ट्रपति मसुद पेजेश्कियानले ट्रम्पको चेतावनीलाई अमेरिकाको ‘बेचैनी र निराशा’ को संज्ञा दिएका छन्।