निर्वाचन समीक्षा गर्दै एमाले, मातहतका कमिटीलाई प्रतिवेदन पठाउन निर्देशन

काठमाडौँ, ९ चैत । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको विस्तृत समीक्षा प्रक्रिया अगाडि बढाएको छ । पार्टीले देशभरका आफ्ना मातहतका कमिटीहरूलाई निर्वाचनको परिणाम, प्रभाव र वस्तुगत अवस्था समेटिएको समीक्षा प्रतिवेदन अनिवार्य रूपमा पठाउन निर्देशन दिएको हो ।

एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार निर्वाचनको हारजितका कारण र आगामी रणनीतिका लागि तल्ला कमिटीहरूबाट विस्तृत सुझाव र प्रतिवेदन माग गरिएको हो । “तल्ला कमिटीहरूबाट प्राप्त हुने प्रतिवेदन र सुझावका आधारमा पार्टीले उच्च तहको बैठकबाट निर्वाचनको औपचारिक समीक्षा गर्नेछ,” अधिकारीले भन्नुभयो ।

पार्टीले निर्वाचनको समग्र नतिजाको विश्लेषण गर्नका लागि छिट्टै सचिवालय र केन्द्रीय कमिटीको बैठक समेत बोलाउने तयारी गरेको छ । ती बैठकहरूमा निर्वाचनमा पार्टीको प्रदर्शन, समानुपातिकतर्फको मतको रुझान र आगामी राजनीतिक कदमका बारेमा ठोस निर्णय लिइने बुझिएको छ ।

यसअघि सम्पन्न निर्वाचनमा प्राप्त परिणामका बारेमा पार्टीभित्र आन्तरिक बहस सुरु भइसकेको सन्दर्भमा तल्ला कमिटीबाट आउने प्रतिवेदनलाई एमाले नेतृत्वले विशेष महत्वका साथ हेरेको छ ।