ट्रम्प ‘ठूलो निर्णय’को मोडमा: इरानसँग शान्ति वा फेरि आक्रमण

एजेन्सी, ७ असाेज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौता गर्ने वा पुनः सैन्य आक्रमण गर्ने भन्ने विषयमा आफू ‘ठूलो निर्णय’को मोडमा पुगेको बताएका छन्। न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्दै उनले द्वन्द्वको समाधान नभए इरानलाई ‘सखाप’ गर्न सक्ने चेतावनी दिएका हुन्।

महासभामा इरानी प्रतिनिधिमण्डलका एक सदस्य सहभागी भइरहेका बेला ट्रम्पले आफ्नो सम्बोधनका क्रममा शक्ति प्रदर्शनको भाषा प्रयोग गरेका थिए। खचाखच भरिएको सभाहलमा उनले वैश्विक सरकारको अवधारणालाई अस्वीकार गर्दै रुस–युक्रेन युद्धको अन्त्य गराउने र एआईको दौडमा अमेरिकालाई जिताउने प्रतिबद्धता व्यक्त गरे।

सम्बोधनको सुरुवातमा ट्रम्पले अमेरिकी अर्थतन्त्र, सीमा सुरक्षा र अपराध नियन्त्रणमा आफ्ना उपलब्धिको प्रशंसा गरेका थिए, जुन कूटनीतिज्ञभन्दा पनि आउँदो नोभेम्बरमा हुने अमेरिकी मध्यावधि चुनावका मतदातालाई बढी लक्षित गरिएको देखिन्थ्यो।

आफ्नो मन्तव्यको ठूलो हिस्सा उनले इरानविरुद्धको युद्धको औचित्य पुष्टि गर्नमा खर्चिए। फेब्रुअरीमा अमेरिका र इजरायलले सैन्य कारबाही सुरु गरेयता विश्वबजारमा कच्चा तेलको मूल्य बढेको छ भने ट्रम्पको लोकप्रियतामा गिरावट आएको छ।

“के इरानसँग यस्तो सम्झौता होला जसले उसलाई फेरि पहिलेभन्दा ठूलो देश बन्न देओस्? वा म इरानलाई चाँडै सखाप पारिदिऊँ ताकि उसले अरू देशलाई कहिल्यै ध्वस्त पार्ने मौका नपाओस्? के म उनीहरूलाई नरकमा पुर्‍याइदिऊँ?” ट्रम्पले प्रश्न गरे।

ट्रम्पले नोभेम्बरको चुनावलगत्तै इरानसँग सम्झौता हुनसक्ने विश्वास व्यक्त गरे। कूटनीतिक भाषामा यसलाई अत्यधिक बल प्रयोगको धम्की दिएर वार्तातर्फ ल्याउने रणनीति मानिन्छ।

यसैक्रममा राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले भने विश्वव्यापी विभक्तिको दायरा गहिरिँदै गएकोमा चिन्ता व्यक्त गर्दै राष्ट्रसङ्घको भूमिका र अन्तरनिर्भरताको महत्त्वमा जोड दिएका थिए। ट्रम्पले भने राष्ट्रसङ्घको आलोचना गर्दै ‘जनताबाट निर्वाचित नभएका कर्मचारीहरूको एजेन्डा’ भन्दै आलोचना गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *