वीरगञ्ज नाकाबाट सात महिनामा साढे ६६ अर्बको निर्यात, अघिल्लो वर्षभन्दा झन्डै १० अर्बले वृद्धि

पर्सा, १५ चैत । चालु आर्थिक वर्षको पहिलो सात महिनामा वीरगञ्ज नाका हुँदै ६६ अर्ब ४८ करोड रुपैयाँ बराबरका स्वदेशी वस्तु तथा सामान विदेश निर्यात भएका छन् ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्ष निर्यातमा उल्लेख्य सुधार आएको छ । गत आवको पहिलो सात महिनामा यस नाकाबाट ५६ अर्ब ५४ करोड रुपैयाँ बराबरको निर्यात भएकोमा, चालु आवको सोही अवधिमा ९ अर्ब ९४ करोडले वृद्धि भएको हो ।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार चालु आवमा यस नाकाबाट हुने निर्यात व्यापार सुधारोन्मुख रहेको छ । सात महिनाको अवधिमा सबैभन्दा धेरै ३५ अर्ब ५८ करोड रुपैयाँ बराबरको प्रशोधित भटमासको तेल निर्यात भएको छ ।

त्यसैगरी, ४ अर्ब ९७ करोड रुपैयाँको फलफूलको जुस, ४ अर्ब ५८ करोडको प्रशोधित सूर्यमुखी तेल र ३ अर्ब ७७ करोड रुपैयाँ बराबरको प्रशोधित पाम तेल निर्यात भएको छ । यसका साथै, २ अर्ब ३३ करोडको विभिन्न किसिमका कपडा र १ अर्ब ५८ करोड रुपैयाँ बराबरको सिन्थेटिक यार्न (धागो) पनि यसै नाका हुँदै निर्यात भएको भन्सार कार्यालयले जनाएको छ ।

निर्यातसँगै वीरगञ्ज नाकाबाट हुने आयातमा पनि वृद्धि भएको छ । चालु आवको पहिलो सात महिनामा यस नाका हुँदै ५ खर्ब ९५ अर्ब ४६ करोड रुपैयाँ बराबरका विदेशी वस्तु तथा सामान भित्रिएका छन् ।

गत आवको सोही अवधिको तुलनामा आयात ५८ अर्ब ९१ करोड रुपैयाँ अर्थात् करिब ११ प्रतिशतले बढेको हो । गत वर्षको पहिलो सात महिनामा यस नाकाबाट ५ खर्ब ३६ अर्ब ५५ करोड रुपैयाँ बराबरको सामान आयात भएको थियो ।