कोशी, बागमती र गण्डकीमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, १६ चैत । नेपालमा हाल पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेकाले देशका विभिन्न भागको मौसममा फेरबदल आएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाडी तथा हिमाली भेगमा बदली हुनुका साथै वर्षा र हिमपातको सम्भावना देखिएको छ ।

अहिले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी र हिमाली भू-भागमा साधारणतया बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली हुनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

यसैगरी, मधेस प्रदेश र कोशी प्रदेशका तराई भू-भागका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ ।

आज राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी र हिमाली भू-भागमा साधारणतया बदली रहनेछ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा राति पनि मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ ।
वर्षा, चट्याङ र हिमपातको जोखिम रहेका क्षेत्रका सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन र मौसमी सूचनाप्रति सचेत रहन विभागले आग्रह गरेको छ ।