कांग्रेस महामन्त्री पौडेलको आह्वान : ‘प्रतिकूल परिस्थितिमा छिन्नभिन्न नहोऔं, एकजुट बनौं’

काठमाडौं, १७ चैत्र । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्तालाई वर्तमान प्रतिकूल परिस्थितिमा विचलित नभई एकजुट हुन अपिल गरेका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै महामन्त्री पौडेलले कठिन घडीमा पार्टी पङ्क्ति छिन्नभिन्न हुन नहुनेमा जोड दिएका हुन्। विगतका हरेक राष्ट्रिय संकटमा कांग्रेस एकढिक्का भएर उभिएकै कारण देशमा ऐतिहासिक परिवर्तन र सफलता सम्भव भएको उनले स्मरण गराएका छन्।

वर्तमान चुनौतीहरूको सामना गर्न पार्टीभित्र बलियो एकता आवश्यक रहेको औंल्याउँदै उनले लेखेका छन्, ‘अहिलेको प्रतिकूलतामा पनि हामी छिन्नभिन्न भएर बिग्रनु हुन्न। म पार्टीको महामन्त्रीका रूपमा मात्र नभई एक इमानदार कार्यकर्ता भएर भन्दैछु– हामी सबै एकजुट होऔं !’

एकतामै शक्ति हुने कुरामा जोड दिँदै पौडेलले सुदृढ र एकताबद्ध कांग्रेसको बलमै फेरि उज्यालो भविष्य निर्माण गर्न सकिने विश्वाससमेत व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *