राष्ट्रिय सभा उपाध्यक्षमा एमाले सांसद लिलाकुमारी भण्डारी निर्विरोध
काठमाडौं, २२ चैत्र । राष्ट्रिय सभाको उपाध्यक्ष पदमा नेकपा (एमाले) की सांसद लिलाकुमारी भण्डारी निर्विरोध हुनुभएकाे छ । संसद् सचिवालयले मनोनयन दर्ताका लागि तोकेको समयसीमाभित्र भण्डारीको मात्र एकल उम्मेदवारी परेपछि उहाँ निर्विरोध हुने पक्का भएको हो ।
संघीय संसद् सचिवालयका सहप्रवक्ता अनन्त कोइरालाका अनुसार, उपाध्यक्ष पदका लागि आइतबार दिउँसो साढे २ बजेदेखि साढे ३ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको थियो । उक्त अवधिमा अन्य कुनै पनि सांसदको उम्मेदवारी परेन ।
भण्डारीलाई सत्ता गठबन्धनका साथै प्रमुख प्रतिपक्षी दलको समेत साथ रहेको छ । उहाँको उम्मेदवारीको प्रस्तावकमा एमालेका राष्ट्रिय सभा संसदीय दलका नेता प्रेमप्रसाद दंगाल रहनुभएकाे थियाे । त्यसैगरी, समर्थकमा नेपाली कांग्रेसका सांसद कृष्णबहादुर रोकाय, जनता समाजवादी पार्टी (जसपा) नेपालकी सांसद पुजा चौधरी र नेपाल कम्युनिस्ट पार्टीकी सांसद मदनकुमारी शाह (गरिमा) रहनुभएकाे सहप्रवक्ता कोइरालाले जानकारी दिए ।
सचिवालयले उम्मेदवारीबारेको अन्तिम सूची आइतबार अपराह्न ४ बजे सूचना प्रकाशित गरी औपचारिक रूपमा जानकारी गराउनेछ ।
उम्मेदवारी एकल परे पनि भण्डारी निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा भने सोमबार दिउँसो सवा १ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा मात्र गरिने संसद् सचिवालयले जनाएको छ ।