अन्नपूर्ण क्षेत्रमा पर्यटकको आकर्षण: मार्च महिनामा मात्रै भित्रिए साढे ४८ हजार विदेशी
गण्डकी, २४ चैत । नेपालको प्रमुख पर्यटकीय गन्तव्य अन्नपूर्ण संरक्षण क्षेत्रमा दोस्रो मुख्य पर्यटकीययाम सुरु भएसँगै विदेशी पर्यटकको आगमन उत्साहजनक देखिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का अनुसार गत मार्च महिनामा मात्रै ४८ हजार ५१३ जना विदेशी पर्यटकले यस क्षेत्रका विभिन्न गन्तव्यको भ्रमण गरेका छन् ।
यो सङ्ख्या अघिल्लो वर्ष (सन् २०२५) को सोही महिनाको तुलनामा ११ हजार ६७९ ले बढी हो । आयोजना प्रमुख डा. रविन कडरियाका अनुसार पछिल्लो समय यस क्षेत्रमा पर्यटकको चहलपहल उल्लेख्य रूपमा बढ्दै गएको छ । “नेपाल भित्रिने कूल विदेशी पर्यटकमध्ये करिब ४० प्रतिशत अन्नपूर्ण क्षेत्रको भ्रमणमा आउने गरेको तथ्याङ्कले देखाउँछ,” डा. कडरियाले भन्नुभयो ।
मार्च महिनामा आएका पर्यटकमध्ये दक्षिण एसियाली मुलुक (सार्क) का ३२ हजार २० र अन्य देशका १६ हजार ४९३ जना रहेका छन् । सार्क मुलुकबाट आउने पर्यटकमध्ये भारतीय पर्यटकको सङ्ख्या सबैभन्दा उच्च रहेको आयोजनाले जनाएको छ ।
नेपालमा मार्चदेखि मे महिनालाई दोस्रो ठूलो पर्यटकीय मौसमका रूपमा लिइन्छ । नजिकिँदै गरेको नयाँ वर्ष र वार्षिक परीक्षापछि शैक्षिक संस्थाहरूमा हुने बिदाका कारण आगामी दिनमा आन्तरिक पर्यटकको चाप समेत थप बढ्ने आयोजना प्रमुख डा. कडरियाको प्रक्षेपण छ । पदयात्राका लागि यो याम सबैभन्दा उत्तम मानिन्छ ।
७ हजार ६०० वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्र कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङ गरी पाँच जिल्लामा समेटिएको छ । पदयात्रा र प्राकृतिक सौन्दर्यका लागि विश्वप्रसिद्ध मानिने यस क्षेत्रमा अन्नपूर्ण आधार शिविर (एबीसी), मर्दी हिमाल, घान्द्रुक, तिलिचो ताल, थोराङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, घोरेपानी र पुनहिल पर्यटकका मुख्य रोजाइका केन्द्र हुन् ।
यस क्षेत्रमा छोटो, मध्यम र लामो दूरीका दर्जनौँ पदमार्गहरू रहेका छन्, जसले गर्दा साहसिक पर्यटन र हिमाली जनजीवनमा रुचि राख्ने पर्यटकहरूका लागि अन्नपूर्ण क्षेत्र सधैँ आकर्षणको केन्द्र रहँदै आएको छ ।