महोत्तरीमा मोटरसाइकल ठोक्किएर आगो लाग्दा तीन विद्यार्थीको जलेर मृत्यु, तीन घाइते
महोत्तरी, २४ चैत्र । जलेश्वर–बर्दिबास सडकखण्डअन्तर्गत महोत्तरीको बथनाहामा दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन जना विद्यार्थीको ज्यान गएको छ ।
मङ्गलबार बिहान एकडारा गाउँपालिका–५ स्थित बथनाहा गाउँमा विपरीत दिशाबाट आइरहेका मोटरसाइकल ठोक्किएका थिए । ठक्करलगत्तै मोटरसाइकलमा आगो लाग्दा एसईई परीक्षा दिएर फर्किँदै गरेका तीन विद्यार्थीको घटनास्थलमै जलेर मृत्यु भएको हो ।
दुर्घटनामा थप तीन जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता (डीएसपी) शैलेन्द्र भट्टका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । उनीहरूको जलेश्वरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
आगलागीबाट मोटरसाइकलको नम्बर प्लेटसमेत नष्ट भएकाले कुन ठाउँका मोटरसाइकल हुन् भन्ने खुल्न सकेको छैन । साथै, मृतक र घाइतेहरूको नाम र ठेगाना पनि हालसम्म नखुलेको र पहिचानको प्रयास भइरहेको प्रहरीले जनाएको छ ।