काठमाडौं महानगरको ‘एक वडा, एक नमूना उद्यम’ : भान्साबाट निस्किएर उद्यमी बनाउने कार्यवाहक प्रमुखकाे याेजना

काठमाडौं, २५ चैत्र । घरव्यवहार र भान्साको काममै सीमित काठमाडौं महानगरपालिकाभित्रका गृहिणी महिलाहरू अहिले विस्तारै सफल उद्यमीका रूपमा चिनिन थालेका छन् । महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको परिकल्पनामा सुरु भएको ‘एक वडा, एक नमूना उद्यम’ कार्यक्रमले महिलाहरूलाई घरको आँगनबाहिर निकालेर आर्थिक रूपमा सशक्त बनाउन थालेको हो ।

“म केही गर्न सक्दिनँ भन्ने हीनताबोध र निराशालाई चिर्दै महिलाहरूलाई उद्यमशीलतामार्फत सशक्त बनाउने योजनाले सफलता पाएको देख्दा निकै खुसी लागेको छ,” कार्यवाहक प्रमुख  डंगोलले भन्नुभयो, “भान्सा गर्दागर्दै जानेको सीपलाई निखार्ने र उहाँहरूलाई उद्यमसँग जोड्ने मेरो सपना थियो, जुन अहिले साकार हुँदैछ ।”

सुरुवातमा घरभित्र बसेका महिलालाई बाहिर निकालेर तालिम दिन र उद्यममा जोड्न निकै चुनौतीपूर्ण भए पनि हिम्मत गरेर अघि बढ्दा सुखद नतिजा आएको उहाँले बताउनुभयो ।

२५ वडामा ५५० महिला आबद्ध, वार्षिक २५ लाखसम्मको कारोबार
महानगरपालिकाको सामाजिक विकास विभागका अनुसार हाल महानगरका २५ वटा वडामा यो कार्यक्रम सञ्चालनमा छ । जसमा १७ देखि ६५ वर्ष उमेर समूहका करिब ५५० जना महिला प्रत्यक्ष रूपमा आबद्ध छन् । उनीहरूले विभिन्न समूह निर्माण गरी काम गरिरहेका छन् ।

वरिष्ठ उद्यम विकास सहजकर्ता देवकी घिमिरेका अनुसार यी समूहहरूले वार्षिक औसत १५ लाखदेखि २५ लाख रुपैयाँसम्मको कारोबार गरिरहेका छन् । आफ्नै कमाइ हुन थालेपछि महिलाहरूमा छुट्टै उत्साह थपिएको छ ।

अन्तर्राष्ट्रिय बजारसम्म पुग्दैछन् उत्पादन
हरेक वडाको पहिचान र स्थानीय बजारको मागलाई आधार मानेर महानगरले उद्यमका क्षेत्रहरू तय गरेको छ । महिलाहरूले सेनिटरी प्याड, गुन्द्रुक, मस्यौरा, फेल्टका सामग्री, माटाका मुखुन्डो, दुनाटपरी, काष्ठकला, नेवारी पोसाक, जुत्तादेखि पपेट (कठपुतली) सम्म उत्पादन गरिरहेका छन् ।

वडा नम्बर ३ मा फेल्टका सामग्री उत्पादन गरिरहनुभएकी लज्जा महर्जन आफूहरूले बनाएका हात्ती, किरिङ, माछालगायतका सामग्री चीन, फिनल्यान्ड, अष्ट्रेलिया र बेलायतजस्ता देशमा निर्यात भइरहेको बताउनुहुन्छ ।

त्यस्तै, वडा नम्बर ६ मा सेनिटरी प्याड उत्पादनमा जोडिनुभएकी गायत्री दाहाल भन्नुहुन्छ, “उद्यममा आउनुअघि म घरमै सीमित थिएँ । अहिले हामी ९ जना दिदीबहिनी मिलेर वार्षिक १३ हजार प्याकेट प्याड उत्पादन गरिरहेका छौँ । भान्साबाट निस्किएर आफ्नै उद्यम गर्नु नै हाम्रो लागि सबैभन्दा ठूलो कुरा हो ।”

आगामी योजना : ‘मेड इन काठमाडौँ’ र ‘कोसेली घर’
महानगरपालिकाले उद्यमीहरूलाई ७ दिनदेखि ३ महिनासम्मको सीप विकास तालिम र आवश्यक प्रविधि हस्तान्तरण गर्दै आएको छ । कार्यवाहक प्रमुख डंगोलका अनुसार अब उत्पादित वस्तुको प्रदर्शनी र बिक्रीका लागि ‘कोसेली घर’ सञ्चालन गर्ने र ‘मेड इन काठमाडौँ’ ब्रान्डमा बजारीकरण गर्ने महानगरको योजना छ ।

“अब हामी उद्यमीहरूलाई आकर्षक प्याकेजिङ, लेबलिङ र बजारीकरणको सीप सिकाउँछौँ । साथै, अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने प्रक्रिया र वाणिज्य नीतिका विषयमा पनि जानकार बनाउँदै लैजान्छौँ,” डंगोलले भन्नुभयो ।

हाल महानगरपालिकाले उद्यमीका उत्पादनलाई विभिन्न मेला, महोत्सव, इन्द्रजात्रा र महानगर दिवसका अवसरमा बिक्री तथा प्रदर्शनीको व्यवस्था मिलाउँदै आएको छ । साथै, महानगरका पदाधिकारीले विशिष्ट व्यक्तिहरूलाई दिने उपहारमा समेत यिनै स्थानीय उत्पादनलाई प्राथमिकता दिन थालिएको छ ।