ललितपुरमा ‘रङ नम्बर’ को फोनले निम्त्यायो दुई दाजुभाइको विभत्स हत्या, ५ जना पक्राउ

ललितपुर, २६ चैत । ललितपुरको प्रसिद्ध पर्यटकीय क्षेत्र पाटनस्थित कृष्ण मन्दिर परिसरमा बुधबार साँझ छुरा प्रहार गरी दुई दाजुभाइको विभत्स हत्या गरिएको छ । एउटा सामान्य ‘रङ नम्बर’ को फोनबाट सुरु भएको विवादले उग्र रूप लिँदा दुई युवकको ज्यान गएको हो ।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार मृत्यु हुनेमा ३३ वर्षीय सुमित नेम्बाङ र उहाँका भाइ २६ वर्षीय सिर्जन नेम्बाङ रहेका छन् । उनीहरू पाँचथर घर भई ललितपुरकै इमाडोलमा बस्दै आएका थिए ।

छुरा प्रहारबाट गम्भीर घाइते भएका नेम्बाङ दाजुभाइलाई तत्काल उद्धार गरी उपचारका लागि ग्वार्कोस्थित बीएन्डबी अस्पताल पुर्‍याइएको थियो । अस्पतालमा उपचारकै क्रममा चिकित्सकहरूले उनीहरूलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार यो हत्याको पछाडि एउटा सामान्य टेलिफोन संवाद जोडिएको छ । नेम्बाङ दाजुभाइले कुनै नम्बरमा फोन गर्ने क्रममा झुक्किएर सञ्जीव नेपालीको मोबाइलमा पुगेको थियो । अपरिचित नम्बरबाट फोन आएपछि सुरुमा दुवै पक्षबीच केहीबेर सामान्य कुराकानी भए पनि पछि फोनमै भनाभन र विवाद चर्किएको थियो ।

विवाद बढ्दै गएपछि सञ्जीवले नेम्बाङ दाजुभाइलाई पाटन आउन चुनौती दिएका थिए । इमाडोलबाट उनीहरू पाटन पुग्नासाथ मासु पसलमा काम गर्ने सञ्जीवले मासु काट्न प्रयोग हुने धारिलो हतियारले उनीहरूमाथि अन्धाधुन्ध प्रहार गरेको ललितपुर प्रहरीले जानकारी दिएको छ ।

घटनापछि भाग्दै गरेको अवस्थामा प्रहरीले मुख्य अभियुक्त सञ्जीव नेपालीसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ परेकाहरूमाथि कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान अगाडि बढाइएको छ । व्यस्त सहरको मुख्य भागमा भएको यस घटनाले स्थानीयवासी त्रसित बनेका छन् । प्रहरीले घटनास्थल सुरक्षित राख्दै थप तथ्यहरू सङ्कलन गरिरहेको जनाएको छ ।